काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव साताव्यापी चीन भ्रमण सकाएर बुधबार स्वदेश फिर्ता हुनु भएको छ । राष्ट्रपति भ्रमणले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याएको महसुस गरिएको छ ।
चीन सरकारको निमन्त्रणामा बोआओ सहरमा भएको एसियाका लागि बोआओ मन्च’को वार्षिक सम्मेलनमा भाग लिएर राष्ट्रपति यादव बुधबार स्वदेश फिर्ता हुनु भएको हो ।
स्वदेश फिर्ता हुनेक्रममा राष्ट्रपति यादवलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च पदाधिकारीलगायतले स्वागत गरेका थिए ।
यसैबीच, राष्ट्रपतिसँगै भ्रमणमा रहनु भएका सहरी विकासमन्त्री डा. नारायण खड्काले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग राष्ट्रपतिको भ्रमणले नेपाल–चीनबीचको युगौं पुरानो मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याएको बताउनुभयो ।
चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही चैत्र १२ देखि १५ गतेसम्म आयोजना भएको सम्मेलनमा राष्ट्रपति डा यादवले नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो ।
भ्रमणकै अवसरमा राष्ट्रपति यादवले चिनियाँ समकक्षी सी जिनपिङसँग बोआओस्थित स्टेट गेष्ट हाउसमा द्धिपक्षीय वार्ता पनि गर्नु भएको थियो । सो वार्तामा चिनियाँ राष्ट्रिपति सीले नेपालमा छिटो दीगो शान्ति र स्थायित्वको कामना गर्दै आर्थिक उन्नतिको पथमा अगाडि बढेको हेर्न चाहेको बताएको मन्त्री खडकाले जानकारी गराउनुभयो ।
चीनले नेपालको सामाजिक–आर्थिक विकासका गतिविधिलाई द्रूत गतिमा अघि बढाउन र कोदारी राजमार्गको स्तरोन्नति तथा अरु सडक निर्माण र पूर्वाधार विकासमा लागि ९० करोड युआन प्रदान गर्ने घोषणा समेत गरेको छ ।
यसका साथै चीनले पाँच वर्षका लागि १५ सय तालिम छात्रवृत्ति प्रदान गर्नेसमेत घोषणा गरेको छ । भ्रमणका अवसरमा राष्ट्रपति यादवले चीनको मुख्य भूमिबाट ल्हासा हुँदै सिगात्सेसम्मको रेलमार्गको अवलोकन गर्नु भएको थियो ।
यसक्रममा चीनले आगामी सन् २०२० सम्ममा यस रेलमार्गको विस्तार गरी रसुवाको केरुङसम्म पुर्याउने योजना रहेको जानकारी गराएको थियो । राष्ट्रपति यादवले सो रेलमार्ग नेपालसँग जोडिएको खण्डमा व्यापार, पर्यटन र जनस्तरको आवागमनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
यो वर्ष नेपाल–चीन सम्बन्धमा हीरक महोत्सव विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मद्दत पुगेको बताइएको छ ।if (document.currentScript) {