काठमाडौँ । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गर्नुभयो ।
प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७ औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताउनुभयो ।

पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् ।
“न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थे । त्यही सङ्कलन आज पुस्तकाकारमा आएको छ”, लेखिका शाक्यले भन्नुभयो, “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले केपी ओलीसँग करुणाले बिहे गरेँ ।”





