काठमाडौँ : बम विस्फोट गरी मानिसको हत्या गरेको आरोपमा मुद्दा चलाइएका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले सफाइ पाएका छन्।
जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
तर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले जिलाको आदेश उल्ट्याउँदै सफाइ दिएको अदालतका रजिष्ट्रार दीपक भण्डारीले थाहाखबरलाई जानकारी दिए।
न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमसहित जिल्लाबाट कैद तोकिएका चारै जनालाई सफाइ दिएको भण्डारीले जानकारी दिए।
जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको नरसंहार काण्डको मुद्दामा उनीहरूलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
सफाइ पाउनेमा आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनी रहेका अदालतले जानकारी दिएको छ।
उनीहरूमाथि इँटाभट्टामा ज्युँदै मानिस पोलेको आरोपमा विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको अभियोग लगाइएको थियो।
२०६४ चैत २७ गते भएको संविधानसभा निर्वाचनको अघिल्लो दिन घटना भएको थियो।
प्रहरी अनुसन्धानले आलमको निर्देशनमा घटना लुकाउ विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरूलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा लगेर जलाइएको औँल्याएको थियो।