लन्डन । अन्तर्राष्ट्रिय स्तरका दुई रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को यूके स्थलगत अडिसन यही सप्ताहन्त बेलायतमा हुने भएको छ ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्न घोषणा गरेको दुई रियालिटी शोको यूके अडिसन अल्डरसटको एम्पायर हलमा १५ फेब्रुअरी शनिबार हुन लागेको हो ।
दुवै रियालिटी शोका लागि यूके अडिसनमा अहिलेसम्म २० जनाले नाम दर्ता गराइसकेको यूके अडिसनका संयोजक मनसुदन थापामगरले जानकारी दिए । मगरले इच्छुक प्रतिभाहरुलाई अझै पनि नाम दर्ता गराउन आव्हान गरेका छन् ।
यूके अडिसनका लागि अमेरिकाबाट आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका अध्यक्ष डिल्ली अधिकारीसहित अन्य आयोजक र कलाकार गरि १२ जना यही १२ फेब्रुअरी लन्डन आइपुग्दै छन् भने नेपालबाट कलाकारहरु केकी अधिकारी, सुनिता दुलाल, धिरेन शाक्य र सञ्चारकर्मी नरेश भट्टराई १३ तारिख बेलुका लन्डन आइपुग्ने कार्यक्रम छ ।
‘मेरो भ्वाइस युनिभर्स सिजन २’ का लागि वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा छन् भने ‘मेरो डान्स युनिभर्स सिजन २’ का लागि निर्णायकमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन् ।