काठमाडौं । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरेको छ ।
नेपालभित्र र संसारको जुनसुकै ठाउँमा बसेका नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै गौरवमय परिचय र पहिचान बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपाली भाषी समुदायका लागि यी दुई रियालिटी शोहरुको आयोजना हुन लागेको हो ।
सन् २०२३ मा यी दुबै रियालिटी शोहरुको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो । यो अडिसन १५ देशहरुमा हुनेछ ।
मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुङ निर्णायक (जज) को भूमिकामा रहेका छन् । यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को निर्णायक मण्डलीमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, चर्चित अभिनेत्री शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर वि.सी., किरण थापा र कविराज गहतराज रहेका छन् ।
मेरो भ्वाइस युनिभर्सको सिजन २ लाई रियालिटी सोको निर्देशनको क्षेत्रमा ख्याति कमाइ सकेका सुरेश पौडेलले निर्देशन गर्ने छन् भने डान्स युनिभर्सको सिजन २ का लागि निर्देशन विषयमै अध्ययन पूरा गरेकी मोसमी गुरुङले निर्देशन गर्ने छन् ।
दुबै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु अनुबन्धित भएका छन्, जसमा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखेल र नम्रता श्रेष्ठ समेत छन् ।