लन्डन– बेलायती संसद हाउस अफ कमन्समा नेपालको जलवायु परिवर्तन असर सम्बन्धि विषय उठान भएको छ । सत्तारुढ लेबर पार्टीकी सांसद एलेक्स बेकरले मंगलबार संसदमा उक्त मुद्दा उठाएकी हुन् ।
बेकरले प्रश्न गरिन्, ‘नेपाल जलवायु परिवर्तनसँग लड्ने अन्तिम चरणमा छ । गत वर्षको अन्त्यतिर हामीले काठमाडौंमा बाढीबाट दुई सय जनाको मृत्यु भएको देख्यौं। धेरै वर्षदेखि बेलायतको साझेदार र मित्र बनेको यो राष्ट्रलाई सहयोग गर्न बेलायत सरकारले के गरिरहेको छ ?’
सांसद बेकर भूतपूर्व गोर्खा सैनिक तथा नेपाली समुदायको बाक्लो बसोबास रहेको अल्डरसट, फार्नबरो जस्ता क्षेत्रलाई प्रतिनिधित्व गर्ने ‘अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल’ की अध्यक्ष पनि हुन् ।
बेकरको उक्त प्रश्नको जवाफमा ब्रिटिश विदेशमन्त्री डेभिड ल्यामीले जलवायु परिवर्तनका असरहरुसंग जुध्न ब्रिटिश सरकारले नेपाललाई सहयोग जारी राख्ने प्रतिवद्धता जनाए । विदेशमन्त्री ल्यामीले बेलायत सरकारले नेपाललाई जलवायु परिवर्तनका असरसंग जुध्न तीन करोड ८५ लाख पाउण्ड ९झन्डै साढे ६ अरब रुपिया० सहयोग गरेको बताए ।
त्यस्तै उनले नेपालमा जलवायु परिवर्तनका असर कम गरी विकास कार्यक्रम सञ्चालन गर्न आगामी आठ वर्षका लागि ५ करोड ८० लाख पाउण्ड ९झन्डै १० अर्ब रुपियाँ० सहायता दिने निर्णय भइसकेको पनि जनाए । विदेशमन्त्री ल्यामीले जलवायु परिवर्तनको मुद्दामा नेपालसंग बेलायतको सम्बन्ध महत्वपूर्ण रहेको पनि बताए ।
सांसद बेकरले एक दिन अघि सोमबार लन्डनस्थित नेपाली दूतावासमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइराला, कार्यवाहक राजदूत विपिन दुवाडी लगायतसंग भेटवार्ता गरेकी थिइन् ।