,

बेलायतमा हुने नेपाली ओपन कन्सर्टमा अन्जु पन्त र खेम सेन्चुरी आउने

Bimala Sene Avatar

लन्डन । मगर संघ यूकेको आयोजनामा जुन १४ तारिख बेलायतमा हुने नेपाली ओपन कन्सर्टका लागि चर्चित कलाकारहरू खेम सेन्चुरी, अन्जु पन्तलगायत बेलायत आउने भएका छन् ।

मगर संघ यूकेले बुधबार सांझ एक भर्चुअल पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो । कार्यक्रममा भ्वाइस अफ नेपाली सिजन ६ का कोच खेम सेन्चुरी र सदावहार गायिका अन्जु पन्तका साथै भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडाले पनि प्रस्तुति दिनेछन् ।

‘म्यूजिक फर युनिटी’ नाराका साथ फार्नब्रो रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने सो कन्सर्टमा बालबालिकाका लागि मनोरन्जनात्मक खेल साथै युवा, वयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकको भनाइ छ । कार्यक्रममा नेपालबाट आएका अन्य कलाकारहरू साथै बेलायतका स्थानिय कलाकारले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ यूकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिने कार्यक्रम छ ।

कार्यक्रम हेर्न १२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट खरिद गरे जनही २० पाउण्ड र सोही दिन किन्दा २५ पाउण्ड प्रवेश शुल्क तोकिएको छ । १७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रीम टिकट किन्दा जनही २५ पाउण्ड र सोही दिन खरिद गर्दा ३० पाउण्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनीका बालबालिकालाई भने प्रवेश निशुल्क राखिएको छ ।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय मेयर, उपमेयर, काउन्सिलरहरू साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि अतिथि रहनेछन् । कार्यक्रममा करिब ५ हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ ।

सन् २००२ सालमा स्थापना भएको मगर संघ यूकेले बेलायतमा नेपाली कला संस्कृति, गीत, संगीत, जगेर्ना र प्रवर्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट गर्दै आएको छ । बेलायतमा सबै उमेर समूहका मानिसलाई सहभागी हुन मिल्ने किसिमको खुल्ला मैदानमा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रम यो नै एक रहेको आयोजकको दाबी छ ।

सो कार्यक्रम सफल पार्न मगर संघ यूकेले आफ्ना १२ वटै शाखा परिचालन गरेको आयोजकले बताएका छन् । कार्यक्रममा बेलायतको वेल्स, क्याट्रिक, मिडल्याण्डलगायत शहरहरुबाट दर्शक सहभागी हुने बताइएको छ । कार्यक्रममा मगर महिला संघ यूकेले राफल ड्र सञ्चालन गर्नेछ । राफल ड्रमा २०० पाउण्डदेखि ७०० पाउण्डसम्मको उपहार राखिएका छन् ।

पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको जवाफ कन्सर्टका प्रमुख संयोजक संघका वरिष्ठ उपाध्यक्ष रूद्र थापा र साँस्कृतिक सचिव नुनु पाइजाले दिएका थिए । पत्रकार सम्मेलनको अध्यक्षता अध्यक्ष लालबहादुर पुन र सञ्चालन महासचिव गोमानसिंह पुनले गरेका थिए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search