लन्डन । ४ वर्षे कार्यकाल सकेर नेपाल फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख (हाल कार्यवहाक राजदूत) रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपाललाई नेपाल पत्रकार महासंघ बेलायतले विदाइ गरेको छ । साथै महासंघले दूतावासमा आफ्नो जिम्मेवारी सम्हाल्न भर्खर पुग्नु भएका तृतीय सचिव झुपलाल पुनको स्वागत सम्मान गरेको छ ।
शुक्रबार सांझ लन्डनस्थित दूतावास भवनमा आयोजित एक कार्यक्रममा महासंघ बेलायत अध्यक्ष विमला सेनेसहितको समहुले खनाल र नेपाललाई विदाइ तथा स्वागत गरेको हो । सो क्रममा अध्यक्ष सेनेले फर्कन लागेका डिप्लोम्याट्सहरुको भावी करिअरमा अझ प्रगति होस् भन्ने शुभकामना दिनुभयो ।
दूतावास कूटनीतिज्ञहरुबाट महासंघले समाचार, सूचना संकलन, सम्प्रेषण तथा संस्थाका अन्य हरेक समारोहमा सहभागिता जनाइ पूर्ण साथ पाएको भन्दै सेनेले आभार व्यक्त गरेकी थिइन् । सो अवसरमा कार्यवहाक राजदूत खनाल र द्वितीय सचिव नेपालले आफूहरुको विदाई र बेलायत कार्यकालमा पत्रकारहरुले पूर्ण साथ दिएकामा आभार व्यक्त गरे ।
कार्यक्रममा शाखा अध्यक्ष सेने, उपाध्यक्ष शिव भण्डारी, सदस्यहरु गोमा राना, नगेन्द्र नेम्वाङ, वाचस्पति रेग्मी, केन्द्रिय प्रतिनिधि दूत पुन लगायत सहभागी थिए । अहिले दूतावास कर्मचारीहरुको टिम परिवर्तन हुने क्रममा छ । तृतीय सचिव गजेन्द्र राई र पुजन पाण्डे नेपाल फर्किसकेका छन् भने खनाल र नेपाल पनि छिट्टै फर्कने तयारी छ ।
उता, बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरेलाई संसदीय समितिले अनुमोदन गरिसकेको छ भने उपनियोग प्रमुख विपिन दुवाडी, द्वितीय सचिव उद्वव न्यौपाने र तृतीय सचिव वीर कुमार राय छिट्टै लन्डन मिसन आउंदै छन् ।