लन्डन । प्रवासमा रहेका नेपाली बालबालिकाहरुको प्रतिभा बाहिर ल्याउन प्रोत्साहन गर्ने तथा नेपाली कला, संस्कृतिको प्रवासमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ क्रियाशील संस्था प्रतिभा नक्षत्रको पाँचौं संस्करण प्रतिभा नक्षत्र २०२४ यहि अगस्ट २६, सोमबारको दिन लन्डनको सेन्ट जोर्ज ग्यारिसन हल, विल्विचमा हुने भएको छ ।
नेपाली भाषा, भेषभुषा, कला, संस्कृति र नेपाली परिकारहरुको विदेशी भुमिमा प्रवर्द्धन र संवर्द्धन गर्ने उद्देश्यले सन २०१७ मा स्थापना गरिएको यस संस्थाले नेपाल र नेपाल बाहिर जुनसुकै देशबाट पनि कार्यक्रममा सहभागी हुन सक्ने गरि हरेक वर्ष प्रतिभा नक्षत्र कार्यक्रम गर्दै आएको प्रतिभा नक्षत्र संस्थाका परिकल्पनाकार राजेन्द्र खसले जानकारी गराए । कार्यक्रमले नेपालीबीच आपसी सद्भाव, समन्वय साथै नेपाली भाषा र कला संस्कृतिको जर्गेनासँगै विश्व माझ नेपाली मौलिकताको पहिचान प्रर्वद्धन गर्ने मुख्य उद्देश्य राखेको परिकल्पनाकार खसले बताए ।कार्यक्रममा नेपाली गीत, सङ्गीत, नृत्य, कला, साहित्य, चित्रकला लगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्ने कुरा उक्त संस्थाका संरक्षक मनिष श्रेष्ठले बताए । यस वर्ष विभिन्न देशका बालबालिकाहरुले नेपाली गीत, संगीत, नृत्य प्रस्तुत गर्ने र उनीहरुसंग भएको विविध प्रतिभा प्रदर्शन गर्ने तयारी रहेको कार्यक्रम संयोजक एवं संस्थाका सल्लाहकार कुमार श्रेष्ठले बताएका छन । कार्यक्रममा लाखेनाच, कुमारीनाच, पञ्चेबाजा प्रदर्शन गर्नुका साथै थारु जातीको मौलिक घर, नेपालका मौलिक सरसामान मादल, डोको, डालो, ढिकी, जाँतोको प्रदर्शनी लगायत नेवारी, थकाली, खस, मगर, गुरुङ समुदायको खानाको परिकार सहितको स्टलहरु रहने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी गराएका छन ।
प्रतिभा नक्षत्रमा बाल तथा युवा गरी दुई छुट्टाछुट्टै समूहमा प्रतिष्पर्धा हुनेछ । ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाहरु सहभागी रहन सक्ने बाल नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः पाँच सय, चार सय र तीन सय पाउण्ड राशीको पुरस्कार र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी १२ देखि १९ वर्ष उमेर समूहका लागि युथ नक्षत्र तर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः सात सय, छ सय र पाँच सय पाउण्ड र ट्रफी प्रदान गर्नेछन ।
सन २०१७ देखि हरेक वर्ष नियमित रुपमा हुँदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा सहभागी हुन चाहने जुनसुकै देशमा रहने नेपाली समुदायका बालबालिकाले प्रतिभा नक्षत्रको वेभसाइट तथा फेसबुक पेजमा गएर आवेदन दिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।
यस अघिका चार संस्करण मार्फत प्रतिभा नक्षत्रका कार्यक्रमले विदेशी भुमिमा रहेका नेपाली बालबालिकाहरूले नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकता प्रति जानकारी पाउने र आफ्नोपनको अनुभूति गराउने महत्वपूर्ण योगदान दिन सफल रहेको आयोजकको दाबी छ । कार्यक्रममा ७ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका जेष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।यस वर्षको प्रतिभा नक्षत्र कार्यक्रममा अतिथिको रुपमा नेपालका चर्चित कलाकारहरु दिप श्रेष्ठ, सुरज श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको सहभागिता रहनेछ भने बेलायतस्थित स्थानीय कलाकारहरुको बाक्लो उपस्थिति रहनेछ । यस कार्यक्रममा आइएनएएस यूके, बुद्ध फाउण्डेशन यूके, जामघाट परिवार, एनआरएनए यूके लगायतका संस्थाहरूको विशेष सहयोग रहनेछ ।
