बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्षमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट चयन भएका छन् । सञ्चालक समिति बैठकले कुशकुमार जोशीको राजीनामा स्वीकृत गर्दै भट्टलाई अध्यक्ष चयन गरेको हो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष भट्ट टीबीआई समूहका पनि अध्यक्ष हुन् । भट्टको चयनसँगै सुरुङमार्ग निर्माण अभियानले गति लिने अपेक्षा लिइएको छ । निजी क्षेत्रले निर्माण पहल गरेको मुलुककै ठूलो यो पूर्वाधार परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भई सरकारबाट निर्माण स्वीकृतिसमेत पाइसकेको छ । आयोजना हाल वित्तीय व्यवस्थापनको चरणमा छ । कम्पनी स्थापनाकालदेखि नै अध्यक्ष रहेका जोशीले आन्तरिक विवादका कारण राजीनामा दिएका थिए । भट्टले यसअघि सुरु गरिएका कामलाई निरन्तरता दिँदै वित्तीय व्यवस्थापनलाई चाँडै टुंग्याई यथाशीघ्र निर्माण सुरु गर्ने प्रतिबद्धता जनाएका छन । सुरुङमार्ग निर्माणका लागि भएको सबै दलको सहमति अबका दिनमा पनि जरुरी रहेको र त्यसलाई व्यवहारमा ल्याउन सरकारले पनि होस्टेमा हैंसे गर्नैपर्ने उनको भनाई थियो । ०६८ भदौमा दर्ता भएको यस कम्पनीमा हाल १ हजार ७ सय सेयरहोल्डर छन् । तीमध्ये भट्ट नेतृत्वको टीबीआई होल्डिंग्सको सबैभन्दा बढी हिस्सा छ । नयाँ नेतृत्व चयनमा भएको सहमतिले निजी क्षेत्र, सरकार र स्थानीयसमेतमा राम्रो संकेत मिलेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विभिन्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग वार्ता भए पनि जोखिम बहनका लागि ग्यारेन्टी नभएकाले लगानीकर्ता यसमा आकर्षित नभएको विज्ञप्तिमा जनाइएको छ । अध्यक्ष भट्टले यसलाई सम्पन्न गरी नेपालका ठूला परियोजना निर्माणमा नयाँ उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन । टीबीआई होल्डिंग्सले नेपालमा होटल, ट्राभल, एयरलाइन्स बु्रअरी, शिक्षा तथा मिडिया क्षेत्रमा लगानी गरेको छ भने जापानमा १ सय ३० भन्दा बढी रेस्टुराँ, रिसोर्ट तथा विभिन्न व्यापार–व्यवसाय सञ्चालन गरिरहेको छ । जापानबाहेक बेल्जियम, अमेरिका, अष्ट्रेलिया, सिंगापुर, भारत, चीनलगायत विभिन्न देशहरुमा टीबीआईको सञ्जाल विस्तार भइसकेको छ ।}