पोखरा । तमु धीं यूकेले नौलो घुम्ती नेपालको भान्साघर निर्माणका लागि १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बर्खे भेलले क्षति पुर्याएको भान्साघर पुनर्निर्माणका लागि नौलो घुम्तीबाट सहयोग माग भएपछि संस्थाले मंगलबार पोखरा १७ सीतापाइलास्थित एक कार्यक्रमबीच १० लाख रुपैयाँ प्रदान गरेको तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गुरुङले जानकारी दिए । सहयोग रकमको चेक तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ र निवर्तमान अध्यक्ष हरि गुरुङले नौलो घुम्ती नेपालका वरिष्ठ उपाध्यक्ष मंगलबहादुर नेपालीलाई हस्तान्तरण गरे ।
निर्वतमान अध्यक्ष हरि गुरुङका अनुसार गत वर्ष बेलायतमा तमु धीं यूकेले आयोजना गरेको गोर्खा कपबाट बचत भएको १० लाख रकम नौलो घुम्तीले साउना बनाउन माग भएअनुसार दिने निर्णय १२ औं कार्यसमितिले गरेको थियो । तर गत बर्खामा भेलले भान्साघरमा ठूलो क्षति गराएपछि संस्थाले उक्त रकम भान्साघरमा खर्च गर्ने गरी निवेदन पठाएपछि उक्त प्रयोजनका लागि हस्तान्तरण गरेको समेत प्रस्ट पारे ।
कार्यक्रम संस्थाकि उपाध्यक्ष मिना गुरुङले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा तमु धीं यूकेका पदाधिकारी, कार्यसमिति सदस्य, नौलो घुम्ती नेपालका पदाधिकारी, कार्यसमिति, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
नौलो घुम्ती नेपाल महिला तथा पुरुष लागू पदार्थ/मद्यपान परामर्श उपचार तथा पुनर्स्थापना केन्द्रको पोखरा महानगरपालिका १७ सीतापाइलामा प्रधान कार्यालय रहेको छ ।