लन्डन । बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यवसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन् ।
ब्रिटेन नेपाल लयर्स एसोसिएसन आवद्ध सोलिसिटर एवं कानून व्यवसायीहरुले शुक्रबार लन्डनमा आयोजित बैठकमा आफ्नो संघर्षका कथा पनि सुनाए ।
ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष एवं सोलिसिटर दीपक भट्टराईले अहिले नेपाली सोलिसिटरहरु विशेषगरि अध्यागमन क्षेत्रमा मात्र केन्द्रित भएका पाइएको उल्लेख गर्दै अब प्रोपर्टी ल, लिटिगेसन, फेमिली, इम्प्लोयमेन्ट ल जस्ता क्षेत्रमा पनि काम गर्न सुझाए । ‘बेलायतमा नेपाली समुदाय बढेसंगै कानूनी समस्याका आयामहरु पनि फरक हुंदैछन् । अब हामीहरुले फरक क्षेत्रमा समेत काम गर्न जरुरी छ’, सोलिसिटर भट्टराईले भने ।
एसोसिएसनले कानून व्यवसायीको करिअर विकास र कार्यक्षमता कसरी बढाउने भन्नेमा पनि सुझाव प्रदान गरिरहेको भट्टराईले जनाए । उनले बेलायतमा सोलिसिटर बन्ने रुटबारे प्रकाश पार्दै सोलिसिटर्स क्वालिफाइङ एक्जामिनेसन (एसक्यूइ) बारे अवगत गराएका थिए ।