लन्डन । लन्डनस्थित नेपाली दूतावासले २७ फेब्रुअरी बिहीबार दूतावासमा नेपाल र बेलायतबीच व्यापार एवं लगानीका अवसरबारे अन्तरक्रिया गरेको छ ।
बेलायतमा नेपाली वस्तु तथा सेवा प्रवर्द्धन र नेपालमा बेलायतको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाहलाई बढावा दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको दूतावासले जनाएको छ ।
कार्यक्रममा राजदूत चन्द्रकुमार घिमिरेले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नेपाल सरकारको प्रयासलाई प्रकाश पार्दै एफडीआईमा बेलायतको अग्रणी भूमिका र लन्डनको वित्तीय जीवन्तता सम्बन्धमा चर्चा गरे । राजदूत घिमिरेले हरित परियोजना, जलविद्युत, पूर्वाधार, वित्तीय सेवा र उत्पादन जस्ता क्षेत्रमा बेलायतबाट नेपालमा लगानीको अपार सम्भावना रहेकोमा जोड दिए।
राजदूत घिमिरेले संस्थागत र कानुनी ढाँचा साथै नेपालको व्यापार तथा लगानी नीति र कानुनमा निरन्तर भइरहेको प्रगतिले व्यवसायका लागि अनुकूल वातावरण सृर्जना गर्ने पनि उल्लेख गरे ।
साथै, राजदूत घिमिरेले दुई देशबीचको व्यापार र लगानीलाई सहज बनाउन व्यवसाय–व्यवसाय (बीटुबी) र सरकार–सरकार (जीटुजी) द्विपक्षीय संयन्त्र स्थापना गर्नुपर्नेमा समेत जोड दिएका थिए । उनले बेलायतका व्यवसायीलाई नेपालमा लगानी र व्यापार पहलमा सहायता र समर्थन गर्ने प्रतिवद्धता पनि जनाए ।
कार्यक्रम समापनमा राजदूत घिमिरेले दोहोरो कर सम्झौताको विद्यमान मस्यौदालाई थप परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै बेलायतमा नेपालको उल्लेखनीय डायस्पोरा उपस्थितिलाई बहुमूल्य सम्पत्तिका रूपमा चित्रण गरेका थिए ।
राजदूत घिमिरेले नेपाल र बेलायतबीच विभिन्न व्यवसायसँग जोडेर आपसी लाभ लिन डायस्पोराका नेपाली व्यवसायीहरुलाई आग्रह पनि गरे ।
कार्यक्रममा करिब ५० व्यापारी तथा लगानीकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो । सहभागीहरूले दोहोरो कर उन्मुक्ति सम्झौता र अत्यावश्यक कानुनको अभावलगायत महत्वपूर्ण विषय उठान गरे । सहभागीले उच्चस्तरीय राजनीतिक भ्रमण र व्यापारिक प्रतिनिधिमण्डलको आवश्यकता एवं व्यापार तथा लगानीका विषयमा सहजीकरणको गति बढाउनुपर्नेमा समेत जोड दिए ।