नेपाली आकाश असुरक्षित बन्दै, ४५ वर्षमा ४० दुर्घटना, भीआईपीसहित ९७ जनाले गुमाए ज्यान

Bimala Sene Avatar

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदनअनुसार ४५ वर्षको अवधिमा हेलिकप्टर दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका छन् । बुधबार नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनासहित ४५ वर्षको अवधिमा ४० वटा दुर्घटना हुँदा ९७ जनाले अकालमा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा बहावलवालामन्त्री समेत छन् । 

२०७५ फागुनमा ताप्लेजुङको पाथीभरामा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । पाथीभराको दर्शन गरेर फर्किने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो । यस्तै सन् २००६ मा ताप्लेजुङको घुन्सामा भएको एमआई–१७ हेलिकप्टर दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो । हेलिकप्टर दुर्घटनामा भएको सो मानवीय क्षति नेपाली हवाई इतिहासकै सबैभन्दा ठुलो हो । 

वन्यजन्तु संरक्षणसम्बन्धी कार्यक्रममा सहभागिताका जाँदा भएको उक्त दुर्घटनामा तत्कालीन बन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राई सहितको सबै टोलीको निधन भएको थियो । 

नेपालमा भएका धेरैजसो हेलिकप्टर दुर्घटनाको कारण प्रतिकूल मौसम र चालकको कमजोरी प्रमुख देखिने गरेका छन् । हवाई दुर्घटनापछि गठन हुने गरेका छानबिन समितिले आफ्नो प्रतिवेदनमा यही कुरालाई बढी औँल्याइने गरेको देखिएको हो । यस्तै उपकरणको मर्मत सम्भारमा हुने कमजोरी लगायतलाई पनि दुर्घटनाको कारकका रुपमा औँल्याइने गरेको पाइन्छ । 

रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको छानबिनका लागि गठित आयोगले पाइलट अति उत्साहित भएका कारण दुर्घटना भएको हुनसक्ने औँल्याएको थियो । 

‘प्रतिकूल मौसमबीच पाथिभराको हेलिप्याडबाट उडान गर्नासाथ पाइलट अति उत्साहित अवस्थाबाट प्रभावित भएको हुनसक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको थियो, ‘त्यसपछि उनले तुरुन्तै जोडसँग आएको हावाको झोक्का र हिमपातले उनलाई मौसमको प्राविधिक जानकारीका आधारमा मात्र उडान गर्नुपर्ने अवस्थामा पुर्‍याउँछ । त्यहाँको अवस्थागत जानकारी र हेलिकप्टरको नियन्त्रण उनले गुमाउँछन् र अन्ततः जमिनमा बजारिन्छ ।’  

दुर्घटनाको रफ्तार बढिरहँदा सरोकारवाला निकायले सुरक्षा सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना नगराएको आरोप समेत लाग्दै आएको छ । 

दुर्घटनाकै इतिहास हेर्ने हो भने पहिलो हेलिकप्टर दुर्घटना सन् १९८९ मा लाङटाङमा भएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणको ‘हवाई सुरक्षा प्रतिवेदन–२०२३’ अनुसार विशिष्ट व्यक्तिहरू लिएर गएको उक्त हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गएको थियो। सोही दुर्घटना नै नेपाली हेलिकप्टर दुर्घटनाको पहिलो घटना रेकर्ड हुन पुग्यो । 

त्यसको १४ वर्षपछि लाङटाङमै अर्को हेलिकप्टर दुर्घटना भयो । तर, सो दुर्घटनामा मानवीय क्षति भएन भने १९९७ मा कर्णाली एयरको हेलिकप्टर दुर्घटना हुँदा १ जनाले ज्यान गुमाएको प्राधिकरणको रिपोर्टमा उल्लेख छ । 

यसैगरी सन् १९९८ मा ३ जना, २००१ मा ४ जना, २००२ मा १३ जना, २००३ मा २ जना, २००५ मा ३ जना, २०१० मा २ जना, २०१३ मा १ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । 

यसैगरी २०१४ मा १ जना, २०१५ मा ४ जना, २०१६ मा ७ जना, २०१८ मा १ जना, २०१८ मै ६ जना, २०१९ मा ७ जना, २०२३ मा १ जना र सोही वर्ष भएको अर्को दुर्घटनामा ६ जनाका साथै बुधबारको घटनासमेत गरी ९४ जनाले ज्यान गुमाएका छन् । 

४५ वर्षको अवधिमा डेढ दर्जन हाराहारीमा भएका हेलिकप्टर दुर्घटनामा भने कुनै मानवीय क्षति भने भएन । तथ्याङ्क हेर्दा सन् २००० पछि हेलिकप्टर दुर्घटना बढ्दै गएको देखिन्छ । सन् २००० यतामात्रै ३० वटा हेलिकप्टर दुर्घटना भएका छन् । २००६ मा २४ जनाको मृत्यु भएको घुन्सा दुर्घटना पनि यसमा समावेश छ ।

एयर डाइनेस्टीकै ४ वटा हेलिकप्टर दुर्घटना 

प्राधिकरणका अनुसार हालसम्म एयर डाइनेस्टीकै ४ वटा हेलिकप्टर दुर्घटना भएका छन् । सन् २००५ मा रामेछापमा भएको दुर्घटनामा ३ जनाले ज्यान गुमाएका थिए । त्यसको एक वर्षपछि अर्थात २००६ मा धौलागिरी बेसक्याम्पमा अर्को दुर्घटना हुन पुग्यो । यद्यपि सो दुर्घटनामा मानवीय क्षति भने भएन । 

यस्तै तेस्रो दुर्घटना तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेलिकप्टर दुर्घटना भएको थियो । सन् २०१९ मा भएको उक्त दुर्घटनामा ७ जनाले ज्यान गुमाउँदा बुधवार नुवाकोटमा भएको सोही एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाले ज्यान गुमाए । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search