लन्डन । धरान समाज यूकेमा नयाँ नेतृत्व चयन गरिएको छ । १५ मार्च शनिबारका दिन अल्डरसटमा सम्पन्न अधिवेशनले निकेश लिम्बुको अध्यक्षतामा ८ औं कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष लिम्बु रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य छन् । उनी अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुन् ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला लिम्बु, उपाध्यक्षमा महा राई र पवीन राई, महासचिवमा बल्लभ गुरुङ एवं कोषाध्यक्षमा किशोर राई निर्वाचित भएका छन् । अधिवेशनले कार्यसमितिको १५ सदस्य समेत निर्वाचित गरेको छ । निर्वाचन समिति संयोजकमा पदम राई र सचिव एवं सदस्यमा क्रमशः खडाहाङ लिम्बु र नेपालधन राई थिए ।
नवनिर्वाचित अध्यक्ष लिम्बूले आफ्नो सीप र विशेषज्ञता प्रयोग गरेर धरान समाजलाई नेतृत्व दिन उत्साहित भएको बताए । साथै लिम्बुले भने, ‘हामी जातीय संस्था होइन, राजनीति र पूर्वाग्रहबाट टाढा रहेर नेपाली समुदाय अनि जन्मथलो धरानको विकास लागि केही गर्ने अठोट छ ।’ ‘मेरो एउटा महत्त्वपूर्ण काम भनेको मेरी छोरी जस्तै बेलायतमा जन्मे हुर्केका दोस्रो पुस्ताका धरानेहरूलाई जन्मस्थानसँग जोड्न प्रयास रहनेछ’ ।
