चार प्रमुख राजनीतिक दल प्रदेशको नामकरण र सीमाङ्कनलाई विज्ञसहितको आयोगबाट टुङ्गो लगाउने सम्बन्धमा सकारात्मक देखिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा भएको छलफलमा विगतको विवाद मत्थर पार्ने प्रयास भएको र छलफल सकारात्मक भएको नेताहरूले जानकारी दिएका छन्। संघीयताको संख्या र सीमांकनमा बिषयमा दलहरु नजिक पुगेको जनाईएको छ। छलफलपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवादित विषयमा आफ्ना कार्यसूचीलाई भन्दा देश र जनतालाई माथि राखेर सहमति खोज्नका लागि सकारात्मक कुराकारी भएको बताउनुभयो। नेता ओलीले भूकम्पको विपत्तिले अल्झेर बस्नेभन्दा देश र जनताको हितलाई सर्वाेपरि राखेर सहमति जुटाउन लागेको उल्लेख गर्नुभयो।
त्यस्तै मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले गत माघ ५ गते भएको अनौपचारिक सहमतिको वरिपरिमा रहेर ६ देखि आठ प्रदेश बनाउने गरी छलफल भएको बताउँदै नाम र सीमाबारे विज्ञसहितको आयोगले पछि टुङ्गो लगाउन सक्ने जानकारी दिनुभयो। उहाँले आफूहरुको छलफल ‘कामकाजी’ हुँदै गएको र ‘सहमतिको नजिक’ रहेको पनि बताउनुभयो। जेठ २१ भित्र संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनलगायत विषयमा सहमति जुटाउने तयारी गरेका चार दलका शीर्ष नेताबीच निरन्तर छलफल गर्दे छिटै सहमति खाज्ने सहमति समेत भएको छ।