एजेन्सी । अख्तियारको दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्ने दक्षिण कोरियाली निकायका अनुसन्धानकर्ताहरूले महाभियोग लागेर निलम्बनमा परेका राष्ट्रपति यून सुक यउललाई नियन्त्रणमा लिने प्रयासलाई स्थगित गरेका छन्।
एउटा वक्तव्यमा अनुसन्धानकर्ताहरूले “निरन्तरको गतिरोधका कारण उनलाई पक्राउ गर्न व्यावहारिक रूपमा असम्भव देखिएको” बताएका हुन् ।”हामी कार्यस्थलमा रहेका हाम्रो टोलीको सुरक्षाबारे संवेदनशील छौँ। हामीले आरोप लागेका व्यक्तिले कानुनी प्रक्रियालाई अस्वीकार गर्ने प्रवृत्ति देखाएको पाएका छौ। उक्त कार्य व्यापक रूपमा निन्दनीय छ,” वक्तव्यमा भनिएको छ।
यउललाई पक्राउ गर्न के गर्ने भन्ने विषयमा पुन: एक पटक छलफल गरेर मात्र तय गरिने उनीहरूले जनाएका छन्।
अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यउललाई पक्राउ गर्ने कार्यलाई स्थगित गरेपछि उनको निवासअगाडि जम्मा भएका समर्थकहरूले चाहिँ “हामीले जित्यौँ” भन्दै नारा लगाएका छन्।
उनलाई पक्राउ गर्न खोज्दा शुक्रवार बिहानैदेखि नाटकीय घटनाहरू भएका थिए।
यउललाई पक्राउ गर्नका लागि उनको घरमा पुगेका प्रहरी अधिकारीहरूले उक्त स्थान छाडेका छन्।
डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको ‘मार्शल ल’ लागु गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो।