ताप्लेजुङ । ताप्लेजुङ दुर्घटनामा ज्यान गुमाएका चार जनामध्ये तीन जनाको शव परिवारले बुझेका छन् । तर, गाडीका चालक दुर्गा भट्टराईका परिवारले भने शव बुझ्न इन्कार गरेका छन् । पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेका झापा भद्रपुरको एकै परिवारका तीन जनासहित गाडी चालक भट्टराईको समेत दुर्घटनामा ज्यान गएको थियो ।
‘झापाका दुई जना र ललितपुरको एक गरी तीन जना मृतकको शव परिवारले बुझ्नुभएको छ,’ ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले भनिन्, ‘ताप्लेजुङकै मृतकका परिवारले भने शव बुझ्न मान्नुभएको छैन।’
सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार दुर्घटनामा परेर ज्यान गुमाएका विनोद पौडेल, उनकी श्रीमती सरिता पौडेल, उनीहरूकी नातिनी ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्यको पोस्टमर्टम भएको छ।
‘शव परिवारले बुझ्नुभएको छ तर भोलि मात्रै झापा लैजाने भनेर जिल्ला अस्पतालको शवगृहमै राखिएको छ,’ उनले भनिन्, ‘गाडी चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराईको भने पोस्टमर्टम भएको छैन।’
चालक भट्टराईका परिवारले विद्युत प्राधिकरणले परिवारलाई राहत रकम दिनुपर्ने, पीडित परिवारका सदस्यलाई प्राधिकरणमा रोजगारीको प्रबन्ध गर्नुपर्ने माग अघि सारेर शव बुझ्न नमानेका हुन्।
सोमबार बिहान ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा उनीहरूको मृत्यु भएको थियो।
दुर्घटनामा पौडेल परिवारकै दुई सदस्य घाइते भएका थिए। उनीहरुलाएई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ।