लन्डन– नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला लन्डन आइपुगेका छन् ।
बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत आएका हुन् ।
बिहीबार राती १०:३० बजे लन्डन हिथ्रो विमानस्थल टर्मिनल फोर उत्रिएका नेता कोइरालालाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुको जम्बो टोलीले न्यानो स्वागत गर्यो ।
कोइरालालाई ‘रिसिभ’ गर्न नेपाली जनसम्पर्क समिति बेलायतका कार्यकारी सभापति युवराज सिंह, पूर्व महामन्त्री तथा कोइराला भ्रमणको संयोजन गरिरहेका नेता आर के त्रिपाठी, जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, नेता विश्वआदर्श पण्डित, विजन भट्ट, शेर सुनार, व्यवसायी रविन्द्रजंग लामिछाने, डेभिड गुरुङ, तर्कजंग गुरुङ, तस्विर लामा, प्रवेश केसीलगायत दर्जनौं उपस्थित थिए ।
कोइरालाले आउंदो १३ जनवरी सांझ बेलायती संसद् भवनको एक कक्षमा गर्न लागिएको एक विशेष कार्यक्रममा सम्वोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्री, बेलायती सांसदहरू एवं नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।
नेता कोइरालाले एक साता बेलायतमा रहंदा बेलायती राजनीतिज्ञहरुसंग भेटघाट साथै विभिन्न शहरमा नेपाली समुदाय र कांग्रेस कार्यकर्तासंग पनि अन्तरक्रिया गर्नेछन् । उनी शुक्रबार दिउसो लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने ‘रिसेप्सन’ मा सहभागी हुने तय छ ।