लन्डन । २५ मे आइतबार हुन गइरहेको गोर्खा कपको २३ औं संस्करण तयारी अन्तिम चरणमा पुगेको आयोजक तमुधिं यूकेले जनाएको छ । संस्थाले शनिबार मिचेटस्थित आफ्नै कम्युनिटी भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा खेलकुद सचिव एवं गोर्खा कप संयोजक दीपक घलेले सन् १९९६ मा ७ ए साइडबाट शुरु गोर्खा कप २३ औं संस्करण आइपुग्दा विदेशमै नेपालीको उत्कृष्ट र ठूलो इभेन्ट बन्न पुगेको बताए । घलेले अल्डरसटस्थित क्विन्स एभिन्यू मैदानमा बिहान ९.३० बजेबाटै खेल शुरु भई सांझ ८ बजे समापन हुने जनाए । उनले यसपटक मेन क्याटेगोरिजतर्फ ३२, भेट्रानमा १६ र दुई महिला टिमले प्रतिष्पर्धा गर्ने जानकारी दिए ।
मेन क्याटेगोरिज वीनरलाई ३ हजार पाउण्ड, रनर अप १८०० पाउण्ड, भेट्रान वीनर १५०० र रनर अपलाई एकहजार पाउण्ड एवं लेडिजतर्फ वीनरलाई ६ सय र रनर अप हुनेलाई ४ सय पाउण्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने घलेले जनाए ।
गोर्खा कप प्रवेश शुल्क ५ पाउण्ड र कार पार्क शुल्क पनि ५ पाउण्ड राखिएको छ । १२ वर्ष मुनीका लागि भने प्रवेश निशुल्क छ ।
गोर्खा कपमा प्यारासुट डिस्प्ले, नेपालबाट युरोपमा खेल्ने पहिलो महिला राष्ट्रिय खेलाडी सावित्रा भण्डारी (साम्बा) को प्रत्यक्ष उपस्थिति, गोरक घले र इंग्ल्याण्ड फुटबल टिमका खेलाडीहरुको सहभागिता, सांस्कृतिक नाच गायन, स्वास्थ्य शिविर (दन्त परीक्षणसहित) पनि गरिने उनले जनाए ।