एजेन्सी । हमासले शनिवार थप चारजना इजरेली बन्धकहरू छाडेको छ। गत आइतवार गाजामा युद्धविराम तथा बन्धक छाड्ने सम्झौता भएयता मुक्त हुने उनीहरू दोस्रो समूह हुन्।
ती सबै चार जना बन्धकहरू इजरेली महिला सैनिकहरू हुन्। उनीहरू करिना अरिएभ, डेनिएला गिल्बोआ, नामा नेभी र लिरी अल्बाग छन्। यसअघि युद्धविराम सुरु भएकै दिन गत आइतवार हमासले तीनजना महिला बन्धक छाडेको थियो।
शनिवार नै मुक्त मुक्त हुने अपेक्षा गरिएका एकजना इजरेली सर्वसाधारणको नाम हमासले सार्वजनिक गरेको सूचीमा थिएन।
इजरेलले त्यसको बदलामा झण्डै २०० जना प्यालेस्टिनी बन्दीहरूलाई छाडेको छ।
रिहा भएका धेरैजसो बन्दीहरूसहितका बसहरू वेस्ट ब्याङ्क पुग्दा उनीहरूलाई त्यहाँ उत्साहित मानिसहरूको भीडले स्वागत गरेको थियो। अन्य इजिप्टमार्फत अन्य देशहरू जाने गरी छाडिएका छन् भने केही गाजा समेत फर्कँदैछन्।
यस आदानप्रदान प्रक्रियालाई रेडक्रसले मध्यस्थता गरिरहेको छ।