,

को हुन् श्रीलंकामा राष्ट्रपति निर्वाचित भएका दिसानायके ?

Bimala Sene Avatar

कोलम्बो : श्रीलंकाको राष्ट्रपति निर्वाचनमा मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके विजयी भएका छन्। श्रीलंकाको इतिहासमा वामपन्थी नेता राष्ट्रपति बनेको यो पहिलोपटक हो ।

दिसानायकेले चर्चित उम्मेदवार नमल राजपाक्षे, साजिद प्रेमदासा र रणिल विक्रमासिंघेलाई पराजित गरेका हुन्। जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता दिसानायके यो निर्वाचनमा नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका थिए।

उनको जन्म राजधानी कोलम्बोबाट १०० किलोमिटर टाढा थम्बुटेगामामा दैनिक ज्यालादारी गर्ने परिवारमा भएको थियो। उनी शुरुमा पेराडेनिया विश्वविद्यालयमा भर्ना भए तर राजनीतिक विचारधाराका कारण धम्की आउन थालेपछि केलानिया विश्वविद्यालयमा भर्ना भए। दिसानायकेले ८० को दशकमा विद्यार्थी राजनीति शुरु गरेका थिए। कलेजमा छँदा उनी सन् १९८७ र १९८९ को बीचमा सरकारविरोधी आन्दोलनका क्रममा जेभीपी दलमा आबद्ध भए।

८० को दशकमा जेभीपीले सरकारविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व गर्‍यो। यसले देशमा ठूलो रक्तपात भयो। सरकारले विद्रोहलाई कुच्यो र जेभीपी संस्थापक रोहना विजेवीराको पनि हत्या गरियो। पछि दिसानायके र जेभीपी हिंसाको बाटोबाट टाढा भए। दिसानायके सन् २००० मा सांसद बने र सन् २००४ मा गठबन्धन सरकारका कृषि र सिँचाइ मन्त्री बने।

सन् २०१४ मा दिसानायके जेभीपीका अध्यक्ष बने। अध्यक्ष बनेपछि दिसानायकेले सन् १९७१ र १९८७ को हिंसात्मक आन्दोलन गल्ती रहेको बताए। त्यो अवधिमा आफू र आफ्नो दलले गरेको रक्तपातप्रति सार्वजनिक रूपमा दुःख व्यक्त गर्दै माफी मागे।​ दिसानायकेले सन् २०१९ मा पहिलोपटक राष्ट्रपतिमा उम्मेदवारी दिए। त्यतिखेर उनले ३ प्रतिशत मात्रै मत पाई पराजित भएका थिए।

सन् २०२२ श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि जेभीपीका अध्यक्ष दिसानायके भ्रष्टाचार विरोधी नेताका रूपमा प्रस्तुत भए। त्यसकै दुई वर्षभित्र उनी श्रीलंकाका राष्ट्रपति बन्न सफल भए। वामपन्थी नेता दिसानायकेको पदभारसँगै धेरै ठूला चुनौतीको सामना गर्नुपर्नेछ। देशको आर्थिक अवस्था सुधार्नु उनका सामु चुनौती छ। उसले चुनावका वेला विशेष गरी विद्यार्थी र मजदुर वर्गसँग गरेका प्रतिबद्धता पूरा गर्न सहज छैन। यो विजयमा विद्यार्थी र मजदुरको ठूलो भूमिका छ। त्यसैगरी पार्टीमा रहेका हिंसाका समर्थक नेतालाई बीचमा आउन नदिने चुनौती पनि छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search