लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमलाकुमारी लिम्बु र महासचिवमा विश्वासदीप तिगेला निर्वाचित हुनुभएको छ ।
हन्स्लो लन्डनमा १३ र १४ सेप्टेम्बर २०२४ मा आयोजित ११ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट ४ सय ३९ मतसहित कमला अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गणेश इजमले ३ सय ४९ र अमृता पालुङ्वाले ८५ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षहरुमा शान्ताकुमार हुक्पा चोङबाङ, दिपेन्द्र याक्सो र राजेन लाबुङ निर्वाचित हुनुभएको छ । शान्ताले ४ सय ४ मत, दिपेन्द्र ३ सय ९०, राजन ३ सय ७७ र अर्का प्रतिस्पर्धी विजय लिङ्देनले ३ सय १५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
महासचिवमा विश्वासदीप तिगेला निर्वाचित हुनुभएको छ । उहाँले ४ सय १५ मत प्राप्त गर्दै जुरेन्द्र खजुमलाई पराजित गर्नुभयो । जुरेन्द्रले ३ सय ९८ मात्रै मत ल्याउनुभएको थियो ।
सचिवमा महेशकुमार वनेम ३ सय ८० मतका साथ विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी लाहाङ चेम्जोङले ३ सय ४४ मत ल्याउनुभएको थियो । कोषाध्यक्षमा खगेन्द्र लावती निर्वाचित हुनभयो । उहाँले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी धनकुमार काम्बाङले ३ सय ३४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
सहकोषाध्यक्षमा भने सबिता नेम्बाङ निर्विरोध हुनुभएको छ ।