काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन् ।
शुक्रबार उच्चस्तरीय समितिसँग मन्त्रालयमा भएको बैठकमा परराष्ट्र मन्त्री राणाले सर्वोच्चको परमादेश कार्यान्वयन गर्ने कुरामा दायाँ बायाँ नहुने प्रस्ट पारिन् । अर्को पक्षलाई समेट्ने सवालमा सहजीकरण गर्न उच्चस्तरीय समितिलाई मन्त्री राणाले आग्रह गरेपनि परमादेशको मिति कटाउन भने नपाइने बताएकी थिइन् ।
उक्त बैठकमा डा. बद्री केसीले मेमा तोकिएको अधिवेशन पर सार्नु पर्ने तर्क गरेका थिए । यसअघि उच्चस्तरीय समिति बैठकमा एकपटक पनि उपस्थित नभएका केसीसहित पूर्व अध्यक्षहरू परराष्ट्र मन्त्री राणाले बोलाएको बैठकमा भने सहभागी थिए ।
छलफलमा सहभागी कानुन र परराष्ट्र मन्त्रालयका सचिवले अदालतले दिएको समयसीमाभित्र जसरी पनि अधिवेशन गरेर संस्था नवीकरण गर्नुपर्ने बताएका थिए ।