काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि दुईवटा उपसमिति गठन गर्ने निर्णय भएको छ । एनआरएनए उच्चस्तरीय समितिको सोमबार बसेको भर्चुअल बैठकले एकता प्रक्रियालाई सार्थक बनाउँदै आगामी मे महिनामा महाधिवेशन गर्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको हो ।
जसअनुसार एकताको वातावरणका लागि आवश्यक समन्वय गर्न संघका पूर्व अध्यक्ष जीवा लामिछाने, रामप्रताप थापा, भीम उदास र कुमार पन्त सम्मिलित एक कमिटी बनाइएको छ । यस्तै कार्यविधि (टीओआर) निर्माणका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, विनोद कुँवर तथा परराष्ट्र र कानुन मन्त्रालयका प्रतिनिधि सम्मिलित अर्को कमिटी बनाइएको छ।
उच्चस्तरीय समितिका एक सदस्यका अनुसार सचिवालयलाई व्यवस्थित बनाउन रविना थापा, जानकी गुरुङ, कुल आचार्य र कुमार पन्तलाई जिम्मा दिइएको छ । समितिले दुई हप्ताभित्र कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय भएको छ । यस्तै समन्वय समितिले सबै पक्षसँग वार्ता र संवादमार्फत सहमति जुटाउँदै एकता महाधिवेशनका लागि माहोल तयार गर्नेछ । मे २०२५ भित्र अधिवेशन गर्ने गरी समितिले तयारी गरिरहेको छ।
बैठकमा बोल्दै उच्चस्तरीय समितिका संयोजक शेष घलेले पहिलो बैठकबाट भएका निर्णयहरुबारे ‘ब्रिफिङ’ गरेका थिए । उनले एकताका लागि आफू लागिपरेको भन्दै सबै अभियन्ताको साथ रहने विश्वास समेत व्यक्त गरे । यस्तै पूर्वअध्यक्ष तथा समितिका सदस्य उपेन्द्र महतोले एकताका लागि आफू जस्तोसुकै पहलकदमी लिन तयार रहेको बताए । जीवा लामिछानेले कानुनले जे भनेपनि अहिलेको आवश्यकता सबैलाई मिलाएर अघि बढ्नु नै भएको बताए ।
कुल आचार्यले सर्वोच्चले गरेको फैसला र परराष्ट्रको पत्राचारलाई कार्यान्वयन गर्नु अहिलको आवश्यकता भएको बताए । रविना थापाले आपसी मनमुटाब त्यागेर संस्थालाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताइन् । बैठकमा बद्री केसी र भवन भट्ट सहभागी नभएपनि १३ जनामध्ये अन्य सदस्यहरू भने सहभागी भएका थिए ।