लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको ‘वेल्फेयर अफ गोर्खा टास्कफोर्स’ले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
टास्कफोर्स संयोजक ले. रिटायर्ड चन्द्रबहादुर गुरुङले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वगोर्खाहरुको वंशजको नागरिकता निरन्तरता, समान पेन्सनलगायतका माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको जानकारी दिए । संयोजक गुरुङसँगै एनआरएनए आईसीसी अध्यक्ष डा बद्री केसी र उपाध्यक्ष एवम् नागरिकता निरन्तरता विभाग संयोजक रामशरण सिम्खडासमेतले उक्त ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
संयोजक ले. गुरुङका अनुसार नेपाली नागरिकता ऐन २०६३ को दफा १०, उपदफा १ मा “नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन” भन्ने व्यवस्थालाई संशोधन गरी “तर यो व्यवस्था १९४७ को त्रिपक्षीय सन्धिअन्तर्गत बेलायती सेनामा भर्ती भएका गोर्खा र निजका सन्ततिहरुका लागि भने लागू हुने छैन । तसर्थ, बेलायती सेनाबाट अवकाश प्राप्त गोर्खाहरु र निजका सन्ततिहरूका वंशजको नेपाली नागरिकता कायमै रहनेछ” भन्ने वाक्यांश राखिदिन अनुरोध गरिएको छ ।
यस्तै गोर्खाहरूको निवृत्तिभरणसम्बन्धी नेपाल सरकार र बेलायत सरकारबीच वार्ता बिलम्ब हुँदा धेरै गोर्खाहरू सुविधा लिनबाट वञ्चित भइरहेकोले यो मुद्दालाई छिट्टै निर्णयमा पुर्याउन परराष्ट्र मन्त्रालयबाट मन्त्रीस्तरीय वार्ता टोली गठन गराई कूटनीतिक पहल गर्ने लगायत मागका विषयमा पनि पूर्वप्रधानमन्त्री देउवालाई अनुरोध गरिएको संयोजक ह. ले. गुरुङले जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भूतपूर्व गोर्खाहरुको मुद्दालाई यथाशक्य चाँडो निष्कर्ष दिनुपर्नेमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएको संयोजक गुरुङले जानकारी दिए । ब्रिटिश गोर्खाको सवालमा विगतको त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी बेलायत र नेपालबीच नयाँ द्वीपक्षीय सम्झौता गर्नुपर्ने धारणा प्रधानमन्त्रीले व्यक्त गरेका थिए।
ज्ञापनपत्र बुझाउने क्रममा एनआरएनए अध्यक्ष डा बद्री केसी, एनआरएनए सीईओ राजेन्द्र रावत, टास्कफोर्स सल्लाहकार एवं तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ र समाजसेवी तेजबहादुर गुरुङ लगायतको उपस्थिति थियो।
यसअघि गत सोमबार टाक्सफोर्सले बेलायती सेनाबाट अवकाश प्राप्त गोर्खाहरु र उनीहरुका सन्तानको वंशजको नागरिकता कायम राख्न र समान निवृत्तिभरणका लागि पहल गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ज्ञापनपत्र बुझाएको थियो ।
संयोजक ह.ले. चन्द्रबहादुर नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार काठमाडौं बुढानीलकण्ठस्थित देउवा निवास पुगेर गोर्खाजहरुको वंशजको नागरिकता निरन्तरता, समान पेन्सनलगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएको थियो । त्यस अवसरमा तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजङ गुरुङ, काउन्सिलर लक्ष गुरुङ पनि सहभागी थिए ।