काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का विधिसम्मत गतिविधिलाई सरकारको साथ रहने बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ’एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार’ नारासहित बुधबार काठमाडौंमा आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले संस्थामा राजनीति गर्नेभन्दा सम्पूर्ण डायस्पोराको हक हितका लागि केन्द्रित हुन अपिल गर्नुभयो । संघले २२ वर्षदेखि नेपाली डायस्पोराको हकहित गर्ने, संस्कृतिक, सम्पदालाई बचाइरहेको उहाँको भनाइ थियो ।
आसपी चिनजान, भेटघाट र मेलमिलाप, संस्कृति परम्पराको निरन्तरता, आफ्नो हक अधिकार सुरक्षा प्रत्याभूति र नेपालको समृद्धिमा योगदानको लागि संघ स्थापना भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिले संस्थाभित्र संर्किण भावना देखिएको टिप्पणी गर्नुभयो ।

उद्घाटन सत्रमा एनआरएनए आईसीसी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीले एनआरएनए नागरिकता पाइसकेको तर आर्थिक, सामाजिक, सांस्कृतिक के हो भनेर स्पष्ट भइनसकेको भन्दै एनआरएन ऐन छिटो ल्याउन माग गर्नुभयो । सम्पूर्ण गैरआवासीय नेपालीबाट लगानी भित्र्याउनु एनआरएनए र सरकारको मूल अभिभारा भन्दै अध्यक्ष केसीले कानुनी र संरचनागत वातावरण बनाउन अनुरोध गर्नुभयो । ’साना लगानी नेपालमा ल्याएर समृद्धिमा सघाउँछ । यसमा एनआरएनएले काम गरिरहेको छ,’ उहाँले भन्नुभयो । लगानीको वातावरण बनाउनेगरी अध्यादेशबाट सहज कानुन आएकोमा धन्यवाद दिँदै उहाँले व्यवहारमा अझै पनि जटिलता रहेको सुनाए । नेपालको शेयरबजारमा गैरआवासीय नेपाली आउनको लागि कानुनी वातावरण बनाइ स्वागत गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन वर्षेनी नवीकरण गर्नको लागि सरकारसँग मिलेर काम संघ तयार रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष केसीले अदालतको आउटडेटेड फैसलाकाआधारमा गरिएको महाधिवेशन अवैधानिक भएको र वैधानिक महाधिवेशन आगामी अक्टोबरमा हुने जानकारी गराउनुभयो । ’आउटडेटेड भइसकेको फैसला कार्यान्वयनको नाममा एनआरएनए फुटाउने प्रयास भएको छ । तर कुनै संकोच मान्नुपर्दैन । परराष्ट्र मन्त्रालय र संघका पूर्वअध्यक्षहरुले त्यो महाधिवेशन आवश्यक छैन भनेका छन् । हाम्रा संघका कुनै पनि देशले सदस्यता वितरण गरेनन् । कुनै देशले प्रतिनिधि पठाएनन् । एनआरएनएको महाधिवेशन भएको अवैंधानिक घोषणामा सहभागी साथीहरुलाई भन्छु एनआरएनए भनेको अभियान हो । पदको लागि मात्र नभएर अभियानमा जोडिएर विदेशमा बस्ने नेपाली र नेपालको समृद्धिमा जोडिन र अक्टोबरमा हुने महाधिवेशनमा हातमा हात मिलाएर आउन अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो ।
एनआरएनए आईसीसी महिला उपाध्यक्ष रोजिना प्रधान राईले स्वागत मन्तव्य दिँदै एनआरएनएभित्र देखापरेको विविध चुनौतीबीच वर्षौदेखि उठाउँदै आएको एजेण्डा छायामा पर्दै गएको बेला कन्क्लेभमार्फत झक्झक्याउने, लगानी आकर्षित गरेर समृद्ध नेपालमा योगदान पुर्याउने, गैरआवासीय नेपालीका हक अधिकार सुनिश्चित गर्नका लागि छलफल गरिने बताउनुभयो । गैरआवासीय नेपाली नागरिकता पूर्ण कार्यान्वयन नहुँदा थुप्रै झन्झट व्यहोर्नुपरेको भन्दै उहाँले सहजीकरण गरिदिन प्रधानमन्त्री ओलीलाई अनुरोध गर्नुभयो् । समृद्ध नेपालको महाअभियानमा सम्पूर्ण गैरआवासीय नेपाली संलग्न हुने वातावरण बनाइदिन उहाँको अनुरोध थियो ।
