काठमाडौं । एकीकृत माओवादीले सहमतिमै संविधान निर्माणका लागि दबाब दिन घोषणा गरेको आमहड्ताल लगायतका संघर्षका कार्यक्रम प्रभावकारी बनाउन आ–आफ्नो क्षेत्रमा खटिन सभासद तथा केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ ।
मंगलबार राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सभासदलाई पार्टी मुख्यालय पेरिसडाँडामा ३० दलीय गठबन्धनले घोषणा गरेका संघर्षका कार्यक्रमलाई चर्काउनका लागि आ–आफ्नो भूमिका निर्वाह गर्न एमाओवादीले निर्देशन दिएको हो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू संयोजक रहेको ३० दलीय गठबन्धनद्वारा घोषित चैत २४, २५ र २६ गतेको आमहडताल र ६ माओवादी घटक दलद्वारा घोषित चैत २३ गतेको जनप्रदर्शनमा सक्रियतापूर्वक सहभागी हुन र गराउन निर्देशन दिनुभयो ।
केन्द्रीय सदस्य र सभासदहरुको भेलामा पार्टी अध्यक्ष पुष्पकमल दाहालले अब सामान्य विरोध गरेका भरमा कांग्रेस र एमालेलाई धक्का दिन नसकिने बताउँदै गाउँसहर पुगेर आन्दोलनको आँधीबेहरी ल्याउन निर्देशन दिनु भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उहाँले कांग्रेस र एमालेले दुई तिहाइको आडमा पेलेर जाने रणनीति लिएको भन्दै दुई दललाई गतिलो जवाफ दिन आवश्यक रहेको र त्यसका लागि सबै नेता र कार्यकर्ताले आन्दोलनलाई सशक्त बनाउन भूमिका खेल्नुपर्ने बताउनु भएको थियो ।
बैठकमा पेलिटब्युरो सदस्य ‘प्रभु साहले पार्टी अध्यक्ष दाहालकोे हत्या गर्ने योजना बनाएको’ भनी रौतहटका केही नेता तथा कार्यकर्ताले लगाएको आरोपमाथि पनि छलफल भएको थियो ।
दाहालले ‘साहमाथि लगाइएको आरोप गैरजिम्मेवार र निराधार भएको’ भन्दै आरोप लगाउनेमाथि छानबिन गर्ने निर्णय सुनाउनु भएको थियो ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);