काठमाडौं । आज ३०औं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वका आदिवासीहरूले मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)का अनुसार यो वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर’ भन्ने मूल नारासहित देशभर दिवस मनाइँदैछ ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले स्वैच्छिकरुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।