काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले २७ र २८ अक्टोबर काठमाडौँमा एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ ।
संघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘रूपान्तरण र एकता: श्रम, लगानी र नागरिकताको निरन्तरता’भन्ने नाराका साथ कन्क्लेभ आयोजना गर्न लागेको जानकारी दिएको हो ।
कन्क्लेभमा सातवटा प्लेनरी सत्र रहने र स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिहरूको सहभागिता रहने संघले जनाएको छ । कन्क्लेभको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभावलगायत विषयमा छलफल हुने अध्यक्ष बद्री केसीले जानकारी दिए ।
दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षालगायतमा संघको भूमिका लगायतका विषयमा छलफल हुनेछ । संघका अध्यक्ष केसीले जलवायु परिवर्तनले देखिएको विनाशका कारणका बारेमा छुट्टै सेसनमा छलफल हुने जानकारी दिए ।
उनले नेपालमा विपद् पर्दा संघले सहयोग गरेको भन्दै हालैको बाढि पहिरोपछि पनि ४४ भन्दा बढी जिल्लामा ९५ लाख बराबरको राहत बाँडेको बताए ।
संघमा लोकतान्त्रिक मूल्यमान्यता अनुसार भएको निर्वाचनको परिणाम चित्त नबुझाएर सडकबाटै आफूलाई अध्यक्ष घोषणा गरेको देखिएको भन्दै अध्यक्ष केसीले वैधानिक निकासका लागि संघ तयार रहेको बताए । उनले संस्था सञ्चालन गर्ने विधानमा समस्या देखिए आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको धारणा राखे ।