न्यूयोर्क। अमेरिकामा बसोबास गर्ने लिम्बु समुदायले चासोक तङ्नाम (उधौली पर्व) भव्यताका साथ मनाउँ तयारी गरेकाे छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा यही डिसेम्बर २२ तारिखका दिन संयुक्त शेर्पा संघ न्यूयोर्ककाे सभाहलमा चसोक तङ्नाम विभिन्न कार्यक्रम आयोजना गरेको मनाउन लािगएकाे हाे ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले जानकारी दिए । विगत वर्षहरु जस्तै यस वर्ष पनि उधौली पर्व (चासोक तङ्नाम ५०८४) मा लिम्बु जातिसँग सम्बन्धीत विभिन्न कार्यक्रम गरिने भएको छ । विशेषगरी चासोक पूजा ( न्वाङ्गी पूजा ), यालाङ ( धान नाच ), केलाङ ( च्याब्रुङ नाच ), हाकपारेलगायत सांस्कृतिक कार्यक्रम हुने बताउँदै अध्यक्ष थेबेले अमेरिकामा रहेका सबै लिम्बु समुदायलाई कार्यक्रमलाई सफल बनाउन चुम्लुङले आह्वान गरेको बताए ।
कार्यक्रममा प्रेम मेयाङ्बो, लिला सिङ्गक, रुपा याख्खा,निलम जवेगु, सरस्वती कन्दङ्वा, सरोज थाङ्देन, बिमल चेम्जोङलगायतका काराकारहरुले लिम्बू सांस्कृतिक धान नाच र हाक्पारे प्रस्तुत गर्नेछन् भने राम लिम्बू, बिरेन्द्रहाङ लाबुङ, भुपेन्द्र अधिकारी, रिन्जी डोल्मा शेर्पा, नवाङ रिन्चेन शेर्पालगायतले गायन प्रस्तुत गर्ने चुम्लुङ अमेरिकाले जनाएको छ । त्यस्तै प्राची लिम्बु , नविन सम्बाहाम्फे , भीम देवन लगायतका कलाकारहरुको नृत्य प्रस्तुति रहनेछ ।
चुम्लुङ अमेरिकाले वर्षेनी लिम्बू समुदायमा दोस्रो पुस्तालाई लिम्बु संस्कार संस्कृतिको जगेर्ना गर्दै मौलिक परम्परालाई हस्तान्तरणकाे प्रयास गरिरहेकाे छ । प्रकृतिपूजक किरात याक्थुङ समुदायले उधौली पर्वलाई चासोक तङ्नामकाे रूपमा मनाउँदै गरेका छन् । उधौली पर्व हरेक वर्ष मंसिर पूर्णिमाका दिन मनाइन्छ । किराँती मान्यता अनुसार यस पर्वलाई किरात समुदायले उधौलीको दिनदेखि हिउँदको शुरुवातकाे समय सङ्केतको रूप लिएका छन् र हिउँदको दिन शुरु भएलगत्तै बस्तुभाउ, चराचुरङ्गी बेसितिर बसाइसर्ने गर्दछ ।
किरात समुदायमा यो पर्वमा दाजुभाइ दिदीबहिनीले सार्वजनिक स्थलमा भेला भएर परम्परागत भेषभुषा लगाएर रमाउने चलन छ ।