काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका एक चर्चित निर्देशक मिलन चाम्स आफ्नो पछिल्लो चलचित्र ‘अञ्जिला’ लिएर बेलायत पुगेका छन् । यही फेब्रुअरी १५ तारिख अल्डरसटको एम्पायर हलमा तय ‘अञ्जिला’ को प्रिमियर शोका लागि उनी शुक्रबार बेलुका लन्डन उत्रिएका हुन् । निर्देशक चाम्ससंगै चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ पनि बेलायत आएका छन् ।
लन्डन हिथ्रो विमानस्थल उत्रिंदा निर्देशक चाम्स र निर्माता श्रेष्ठलाई चलचित्रका निर्माता सुमन राई, आकाश सुनुवार, अभिनेता रितेश चाम्स, सन्तोष सुवेदी, निर्माता टुवेन्द्र लिम्बूलगायतले स्वागत गरेका थिए । नेपाली राष्ट्रिय महिला फुटबलर एञ्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा निर्माण भएको चलचित्र हो ‘अञ्जिला’। चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङसहितका चर्चित कलाकारसमेतको अभिनय छ । फरक विषयवस्तु र शैलीमा बनाइएको चलचित्रले गतिलो प्रशंसा पनि बटुलेको छ ।
बेलायत उत्रिएपछि निर्देशक चाम्सले फेब्रुअरी १५ को प्रिमियर शोमा सहभागी हुन बेलायतवासी नेपाली दर्शकलाई निम्तो गरेका छन् । राष्ट्रका लागि जीवन समर्पित गर्ने खेलाडीको वास्तविक कथामा निर्माण भएको फरक चलचित्रलाई बेलायतका दर्शकले साथ र हौसला दिने आशा उनको छ।
निर्माता सुमन राईले प्रिमियर शोमा सिट सिमित हुने भएकाले समयमै आफ्नो टिकट सुरक्षित गर्न आग्रह गरेका छन्।