इटहरी । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै आगामी जेठ २ र ३ गते वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र सीटीइभीटी कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा विराटनगरकाे आदर्श माध्यमिक विद्यालयमा मेला सञ्चालन हुन लागेको हो ।
‘सीप आजको आवश्यकता, भविष्यको सुनिश्चितता’ भन्ने मूल नारासहित आयोजना हुने मेलाले विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षाबारे व्यवहारिक जानकारी प्रदान गर्नुका साथै सही करिअर छनोटमा सहयोग गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ । मेलामा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि, हस्पिटालिटीलगायत विषयमा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक कार्य, परियोजना तथा नवीन प्रविधिको प्रत्यक्ष प्रदर्शन गर्ने सीटीइभीटी कोशी प्रदेश कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत शिशिर सुब्बाले बताए ।
मेलामा ४० वटा शैक्षिक स्टल रहनेछन् । सीटीइभीटीअन्तर्गतका आङ्गिक शिक्षालय, टेक्स विद्यालय, साझेदारी शिक्षालय तथा निजी शिक्षण संस्थाहरूले आफ्ना अध्ययन कार्यक्रम, तालिम र अवसरबारे जानकारी दिनेछन् । विद्यार्थीहरूलाई करिअर काउन्सेलिङ, छात्रवृत्ति, निःशुल्क अध्ययन अवसर, भर्ना प्रक्रिया तथा रोजगारी र स्वरोजगारका सम्भावनाबारे समेत जानकारी गराइने जनाइएको छ ।
कोशी प्रदेशका १४ जिल्लाबाट विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।







