लन्डन । विश्व आदिवासी दिवसको अवसरमा लन्डनमा आयोजना गरिएको आदिवासी दिवस खेलकुद तथा मेला सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले आयोजना गरेको दुईदिने आदिवासी दिवस खेलकुद तथा मेला भव्य रूपमा सम्पन्न भएको हो ।
प्रत्येक वर्ष ९ अगस्टका दिन विश्वव्यापी रूपमा मनाइने यो दिवसको अवसरमा नेफिन युकेले यस वर्ष विभिन्न कार्यक्रमसहित दिवस मनाएको हो । पहिलो दिन भलिबल र छेलो खेल आयोजना गरिएको थियो । भलिबल प्रतियोगितामा २१ टिमको सहभागिता रह्यो ।
युथ टिमतर्फ ग्रिनिच टिम प्रथम भई १,६०० पाउन्ड नगद पुरस्कार जित्न सफल भयो भने अल्डरसट टिम दोस्रो स्थानमा रह्यो। पुरुष भ्याटरनतर्फ प्रथम ग्रिनिच भलिबल परिवार, दोस्रो स्याङ्जा युके बने । महिला टिमतर्फ प्रथम मोना युके, दोस्रो म्यानचेस्टर टिम रह्यो ।
दोस्रो दिन, १० अगस्टमा, युकेस्थित विभिन्न जातीय संगठनहरूले आफ्नो परम्परागत भेषभूषामा सुसज्जित भई झाँकी प्रदर्शन गरेका थिए । झाँकी प्रतियोगितामा प्रथम युके मगर संघ, दोस्रो किरात याक्थुङ चुम्लुङ युके, र तेस्रो किरात राई यायोख्खा युके बन्यो ।
यस वर्षको आदिवासी वर्ष पुरुष २०२५ मा दुत पुन र आदिवासी वर्ष महिला २०२५ मा गंगामाया दुुरालाई घोषणा गर्दै सम्मान गरियो । धनुषकाँड ९आर्चरी० र छेलो खेलका विजेताहरूलाई समेत पुरस्कारसहित सम्मान गरिएको थियो ।
कार्यक्रम लण्डन नजिकको ग्याम्बरल्याण्डस्थित किरात राई यायोख्खा युकेको आफ्नै भूमिमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका पूर्वसंघीय सचिव भक्त दुरा रहेका थिए भने आधा दर्जनभन्दा बढी समाजका अगुवा नेताहरूले आदिवासी दिवसको शुभकामना दिएका थिए । नेपाल र युकेका कलाकारहरूले गीत र नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
नेफिन युके सन् २००९ मा स्थापना भई सक्रिय रहँदै आएको छ। हाल यस अन्तर्गत ११ वटा जातीय संगठन आबद्ध रहेका छन् ।
फोटोहरु























