लन्डनमा पहिलोपटक इन्द्र जात्राको आयोजना गरिँदै

Bimala Sene Avatar

लन्डन । लन्डनमा पहिलोपटक पासा पुच गुथि यूकेले इन्द्र जात्रा गर्ने भएको छ । लन्डन फेल्थामस्थित स्प्रीङवेष्ट एकेडेमी प्राङ्गणमा आउंदो १६ अगष्ट मध्यानह १२ देखि सांझ ७ बजेसम्म इन्द्र जात्रा गर्न लागिएको आयोजकले शनिबार एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

काठमाडौंको प्रतीक (रिफेल्क्सन अफ काठमाडौं) का रुपमा जात्रा गर्न लागिएको छ । नेपालको संस्कृतिबाट सिकेर लन्डनमा आफ्नै शैलीको फयूजनसहित जात्रा गरिने आयोजकले जनाएको छ । पासा पुच गुथि लन्डन च्याप्टर र ओजेश सिंहले जात्राको संयोजन गरेका छन् । जात्रा व्यापक बनाउन गुथिका सबै ६ वटा यूके च्याप्टरको पनि आआफ्नो तर्फबाट योगदान हुनेछ ।

पत्रकार सम्मेलनमा पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले बेलायतमै मौलिक जात्राको रुपमा विकास गर्ने उद्देश्यसहित जात्रा गर्न लागिएको जनाए । उनले सन् २००० मा गुथि स्थापना भएपछि यूकेमा म्ह पूजा, गुथि भ्वय, गुथि पूजा, वृहत नेवा मुना, योमरी पुन्ही, गुथि सेमिनार, लन्डन खः जात्रा, लन्डन बिस्का जात्रा लगायत विभिन्न सांस्कृतिक गतिविधि भइरहंदा पहिलो पटक लन्डन इन्द्र जात्रा थपिएको जनाए ।

बेलायतमै जन्मे हुर्किएका दोश्रो पुस्तालाई नेवा कला संस्कृति र मातृभूमि नेपालसंग जोड्ने माध्यमका रुपमा यसलाई लिइएको पनि प्रजापतिले जनाए । प्रजापतिले डे आउटका रुपमा लिएर नेवा समुदायमात्र नभइ बेलायतस्थित गैर नेवारहरुलाई पनि सहभागी भइदिन अपिल गरे ।

बेलायतमा च्यारिटीमा दर्ता भएको गुथि स्थापनाको २५ औं वर्ष गांठमा इतिहास रच्न लागिएको र यो दोश्रो पुस्तालाई पनि कला संस्कृति अनुशरण गर्न कोशेढुंगा हुने प्रजापतिले बताए । इन्द्र जात्रामा कुमारी, भैरव र गणेशको रथ तानिने एवं ति तीन रथहरुमा जिवित देवी कुमारी र देवताहरु गणेश र भैरवलाई पनि विधिपूर्वक प्रतिस्थापन गरि परिक्रमा गरिने आयोजकको तयारी छ ।

रथ बनाउने र तान्ने शैली नेपालकै जस्तो हुनेछ । विगत दुईमहिनादेखि रथहरु बनाउने काम भइरहेको छ । लाखे महोत्सव पनि गरिने आयोजकले जनाएका छन् जसमा विनोद चिपालुले विशेष लाखे प्रदर्शन गर्ने योजना छ । त्यस अवसरमा हाथु द्योः बाट रक्सीसहित समेंबजि डों (प्रसाद) बांड्ने कार्यक्रम पनि छ ।

सो अवसरमा धिमे, ढा, खिं, बांसुरी लगायत कयौं बाजा पनि प्रस्तुत गरिनेछ । गुथिका विभिन्न च्याप्टरमा विगत ९ महिनादेखि धिमे बाजा प्रशिक्षण भइरहेको छ ।

कयौं लाखे नाच, कुमारी नाच, मन्जुश्री नाच, भैरवगण नाच, हुलां प्याखः, धिमे प्याखः आदि प्रस्तुत गरिने आयोजकले जनाएका छन् । सो अवसरमा व्यापारिक र खानाका करिब दुई दर्जन स्टल, फेस पेन्टिंग, च्यारिटीका स्टल आदि पनि रहने आयोजकले जनाए । जात्रामा करिब ४ हजार दर्शक सहभागी हुने अपेक्षा छ ।

जात्रा संयोजक एवं गुथिका पूर्व अध्यक्ष तथा हाल संरक्षक ओजेश सिंहले २५ औं वार्षिकोत्सवको अवसरमा लन्डन इन्द्र जात्रा गर्न लागिएको बताए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search