लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । पुडासैनीले दुई अध्यक्षका प्रतिस्पर्धी गोविन्द शर्मा खरेल र मनिष खत्रीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्सवाचन मितिका अनुसार पुडासैनीले १४ सय ८२ मत प्राप्त गरे भने खरेलले ९ सय ७७ र खत्रीले ४ सय ९६ मत मात्र पाए ।
खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १८८४ र डा रक्षा थापाले १७२७ मत पाएर विजयी भए । शम्भु अर्याल र ज्ञानेन्द्र आलेले क्रमश: ११९६ र ९६१ मत पाएर उपविजेता बने । स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कंडेल १६०८ प्राप्त गर्दै विजयी बने ।
महासचिवमा विजयी दिवाकर पाण्डेले १६६० मत पाए भने उपविजेता पुण्य रेग्मीले १२०१ पाए । खुला सचिवमा डिएन खराल १८७९ र कृष्ण देवकोटा २३०९ मतसहित विजयी बने भने भूपाल कार्की १३५६ मतसहित उपविजेता बने । आइसीसी सदस्यमा विष्णु खरेल २३२५, तुंगभद्र भुषाल २२०७ र छविलाल अर्याल २०१५ मत ल्याएर विजयी भए । देउमान इजम १८५३ मत ल्याएर उपविजेता बने ।
इंग्ल्यान्ड राज्य परिषद अध्यक्षमा राममाया विष्ट थापाले १०६९ मत पाएर विजयी हुँदा अहिल्या कुंवर ३ सय ४४ मतसहित उपविजेता भइन्।
राजेन्द्र पुडासैनीको परिचय
नुवाकोटको साविक जिलिङ गाउंपालिका २, हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा पुडासैनी स्वर्गीय उपेन्द्र पुडासैनी तथा माता लोकमाया पुडासैनीको माइला सुपुत्र हुन् । उनी २५ वर्ष अगाडि बेलायत आएका थिए ।
पढाइकै क्रममा बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स उत्रिर्ण पश्चात विगत १५ वर्षदेखि स्वास्थ्य सेवा विभागमा कार्यरत छन् उनी । ३ छोरा, २ नाती, १ नातिनीका हजुरबुवा उनी विद्यार्थीकालदेखि नै सामाजिक रुपान्तरणमा क्रियाशील थिए ।
नेपालमा रहंदा त्यतिबेला प्रख्यात सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत भएका पुडासैनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गरिरहेका छन् ।
बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहि पुडासैनीले श्रमिकहरुको हकहितको पैरबी पनि गर्दैछन् । सामाजिक अन्तरघुलनमा विश्वास गर्ने उनी सन् २०१४ मा लन्डन बरो अफ ह्यारोको ह्यारो अन द हिलबाट काउन्सिलर पदमा प्रत्यासी थिए । उनी राजनीति र समाजसेवालाई शुद्धीकरणमा विश्वास गर्छन् ।
हाल इसेक्सको हार्लो शहरका स्थायी बासिन्दा पुडासैनी बेलायतको विभिन्न सामाजिक संघसंस्था जस्तै यती नेपाली एसोसिएसन यूकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुंदै एनआरएनए अन्तराष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य समेत थिए ।







