,

भुटानी नेपाली साहित्यकारहरुको त्रिदिवशीय विश्व सम्मेलन हेगमा सम्पन्न, ६ लाख पुरस्कार घोषणा

Bimala Sene Avatar

हेग । भुटानी नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संगठन ग्लोबल भुटनीज लिटरेचर अर्गनाईजेसन (जीवीएलओ)मा नयाँ नेतृत्व चयन भएको छ ।

नेदरल्यान्डको हेगमा १३ देखि १५ जुन २०२५ सम्म भएको बृहत् अन्तर्राष्ट्रिय साहित्यिक अनुष्ठान ६ का क्रममा पातले अन्तरे (अमेरिका) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ नेतृत्व २०२५ – २०२७ को निमित्त अध्यक्ष पातले अन्तरे (अमेरिका), वरिष्ठ उपाध्यक्ष गोपाल पौडेल (न्यूजिल्याण्ड), महासचिव सुसन माझी (ओहायो), सचिव लक्की रासी (केन्टकी), कोषाध्यक्ष शेखर कोईराला (पेन्सिलभेनिया), सहकोषाध्यक्ष अबि न्यौपाने (ओहायो) चयन हुनुभएको छ ।

यस्तै कार्यक्रम प्रबन्धक र निर्देशक ईश्वर ढकाल (ओहायो), सांस्कृतिक संयोजक सरगम थपलिया (पेन्सिलभेनिया), प्रचारप्रसार प्रमुख भिम गुरूङ (नेब्रास्का) चयन हुनुभएको छ ।

सदस्यहरूमा खडग गजमेर (नेब्रास्का), देवी राई (आईहोवा), यादु अधिकारी (ओहायो) र छत्र दंगाल (अष्ट्रेलिया)ले जिम्मेवारी पाउनुभएको छ भने बोर्ड अफ ट्रष्टीमा डेन्जोम साम्पाङ (पेन्सिलभेनिया), जय बान्तावा (जर्जिया), कर्ण गुरूङ (नेब्रास्का), प्रदिप गुरूङ (पेन्सिलभेनिया), आभाष रिखाम (पेन्सिलभेनिया), ममता मोक्तान (पेन्सिलभेनिया) रहेको जीवीएलओले जनाएको छ ।

कार्यक्रमको मुख्य अतिथिमा बेनालुक्सको निमित्त नेपाली राजदूत सेवा लम्साल र विशिष्ट अतिथिमा गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राट्रिय समन्वय परिषद्का नवनिर्वाचित उपाध्यक्ष विश्वासदीप तिगेला रहनुभएको थियो ।

पहिलो दिन हेगको डेल्फ युनिभर्सिटीमा प्रस्तुत भएका विभिन्न कार्यपत्रहरुमध्ये स्वीकारोक्ति सिद्धान्तको बारेमा सिद्धान्तकार डेन्जोम साम्पाङले सहभागीहरुबीच बृहत् चर्चा गर्नुभयो । सहभागीहरुसँग अन्तरक्रिया गर्नुभयो भने दोस्रो दिन आर्य समाज भवनको हलमा साहित्यिक वाचन, आधा दर्जन कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

यस्तै सम्मान प्रदान, कृति विमोचन, नयाँ नेतृत्व घोषणासँगै अहिलेसम्म नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा बढी राशिको स्वीकारोक्ति सिद्धि पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गर्ने घोषणा गर्‍यो । काइँलालाई निकट भविष्यमा नेरु ६ लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिने भएको छ । यसअघि उक्त पुरस्कार आसमका नेपाली साहित्यकार स्व. लिलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।

तेस्रो दिन शान्ति र स्थायित्वको निमित्त स्वीकारोक्ति सिद्धान्त नाराका साथ स्वीकारोक्तिको रंग हरियो भेष्ट लगाई डेढ दर्जन स्रष्टाहरुले हेग विश्वविद्यालयको प्राङ्गणबाट साइकल यात्रा सुरु गरी सहरको शान्ति दरबार, अन्तर्राष्ट्रिय फौजदारी अपराध अदालत, पार्लियामेन्ट लगायतका स्थानमा साईकल र्‍याली निकालेका थिए ।

कार्यक्रममा डा.नारद पोखरेलले स्वीकारोक्ति सिद्धान्तको बारेमा सैद्धान्तिक चर्चा गर्नुभयो । कवि प्रकाश आंगदेम्बे, डिल्लीराज अम्माई, सूर्यराज गिरी, कवि दिपा राई पुन, पंचम अधिकारी, हरि पौडेल, भुटनीज मानवअधिकारकर्मी राम कार्की, एनआरएनए निदरल्याण्डको पूर्वअध्यक्ष शशी पौडेल, वर्तमान अध्यक्ष थानेश्वर कँडेल लगायतले आफ्ना सिर्जना वाचन तथा मन्तव्य दिनुभएको थियो । कार्यक्रमको बीचबीचमा स्थानीय कलाकारहरुबाट नृत्य तथा गीत, संगीत प्रस्तुत गरिएको थियो । वीरमान श्रेष्ठ, सबु पौडेल र रस्मिता पराजुलीले शान्ति योगा गराउनुभएको थियो भने एनआरएनएका उपाध्यक्ष तिगेलाले कार्यपत्र प्रस्तुत गर्दै नेपाली भाषाको नामै खस–जुम्ली भाषा भनिनुपर्ने र नेपालभित्र बोलिने सबै भाषाको साहित्यलाई नेपालिय साहित्य भनिनुपर्ने प्रस्ताव राख्नुभयो । उहाँले प्राप्त तथ्याङ्कलाई प्राज्ञिक हिसाबले छलफलको लागि प्रस्तुत गर्नुभएको थियो ।

समाज भाषा वैज्ञानिक सर्वेक्षण २०१६ को अध्ययनको फिल्ड प्रतिवेदनअनुसार जुम्ली नेपाली भाषी मध्ये ७५ प्रतिशतले अरुसँग कुरा गर्दा प्रायः ‘नेपाली भाषा’ को माध्यम प्रयोग गर्ने गर्दछन । त्यसैले खसजुम्ली भन्न सकिने तर्क उहाँको थियो । सिंजा उपत्यकामा विकास भएको खस भाषा विभिन्न प्रशाखामध्ये एक जुम्ली हो । प्राचीन खस भाषा स्वयं चाहिँ लोपोन्मुख अवस्थामा छ ।

कार्यक्रमको अन्त्यमा समारोहका सभापति कर्ण गुरुङले सहभागीलाई मायाको चिनोसहित सबैलाई धन्यवाद दिनुभएको थियो । निदरल्याण्डमै रहेर हेग र डेल्फ विश्वविद्यालयमा अध्यापन गराउने डीपी शर्मा मैनालीले यस छैठौं संस्करणको सम्मेलनको संयोजनकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा सविना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव पातले अन्तरेले सञ्चालन गर्नुभएको थियो । सम्मेलनमा अमेरिका, यूके, न्यूजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, स्लोभानिया, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, डेनमार्क, भुटान, नेपाल र फ्रान्सलगायत विश्वका विभिन्न १६ मुलुकबाट सहभागी थिए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search