लन्डन । नेपाल पत्रकार महासंघ यूकेले महासंघको अधिवेशनको सन्दर्भमा प्रकाशित भ्रमित समाचारहरु प्रति आपत्ती जनाएको छ । महासंघले एक विज्ञप्ति जारि गर्दै महासंघको अधिवेशनको सन्दर्भामा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको हो ।
महासंघ अध्यक्ष विमला सेने र महासचिव खेम राज रानाभाटले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेको विज्ञप्तिमा विपिन निरौलाले आफूलाई बेलायत शाखाको अध्यक्ष बताउँदै पठाएको इमेलमा आधारित समाचार भ्रामक, निराधार र तथ्यहीन रहेको उल्लेख गरिएको छ ।
विज्ञप्ति मार्फत महासंघले विपिन निरौला बेलायत शाखाको अध्यक्ष नभएको स्पष्ट पारेको छ । साथै पत्रकार महासंघको गरिमालाई आँच नपुर्याउन समेत निरौलालाई महासंघले विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।
समाचार प्रकाशनअघि आधिकारिक प्रतिक्रिया नलिई प्रकाशित समाचारले पत्रकारिताको विश्वसनीयतामा प्रश्न उठाएको भन्दै महासंघ यूकेले सस्तो लोकप्रियताका लागि अतिरञ्जित समाचार प्रकासन तथा प्रसारण नगर्न मिडियाहरुलाई आग्रह गरेको छ ।
महासंघ बेलायत शाखाले आफ्नो स्थापना दिवसको सन्दर्भमा हालसम्म औपचारिक रुपमा कसैलाई आमन्त्रण नगरेको जनाउदै यसबारे बोधार्थ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई पठाइएको महासंघले जनाएको छ ॥









