लन्डन । बेलायती रक्षामन्त्री जोन हिलीले बिहीबार राजीनामा दिएका छन् । प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षामन्त्री हिलीले राजीनामा दिएका हुन् ।
रक्षामन्त्री हिलीको राजीनामासंगै भूतपूर्व ब्रिटिश गोर्खाहरुको मुद्धा अब कसरी अगाढि बढ्ला भन्ने प्रश्न र अन्यौल उब्जिएको छ । भर्चुअल रुपमै भएपनि गोर्खा मुद्धामा पहिलोपटक गत सोमबार भएको मन्त्रीस्तरीय वार्तामा सकारात्मक छलफल भएको थियो ।
लन्डनस्थित नेपाली दूतावासमा झण्डै अढाई घण्टा चलेको वार्तामा बेलायती रक्षामन्त्री जोन हिली र नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल ‘भर्चुअल’ रुपमा जोडिएका थिए । जुलाईभित्रै अर्को वार्ता बस्ने र सो वार्तामा रक्षामन्त्री हिली प्रत्यक्ष सहभागी हुने बताइएको थियो ।
छलफलमा नेपालका परराष्ट्र मन्त्री खनालले गोर्खाहरूका गुनासा सम्बोधन गर्दै दुवै पक्षलाई स्वीकार्य हुने समाधान यथाशीघ्र खोजिनुपर्ने आवश्यकता औँल्याएका थिए । मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्व दर्शाउँदै न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी मुद्दाहरू सम्बोधन गर्न बेलायती सरकारलाई आग्रह गरेका थिए ।







