लन्डन । लामो समयदेखि भूतपूर्व गोर्खाहरूले उठाउँदै आएका मागहरूको सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका पदाधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरूको बैठक सम्पन्न भएको छ ।
विशेषतः समान पेन्सनसम्बन्धी विषयमा नेपाली दूतावास लन्डनमा प्राविधिकस्तरको एक महत्वपूर्ण बैठक सम्पन्न भएको हो । लन्डनस्थित नेपाली दूतावासमा नयाँ कूटनीतिज्ञहरु आएका र बेलायत सरकार पनि परिवर्तन भएपछि झण्डै वर्षदिन पछि गोर्खा मुद्दामा यो पहिलो छलफल हो ।
साढे दुई घण्टा चलेको बैठकमा गोर्खाहरूको मुख्य माग र विशेष गरी समान पेन्सनसम्बन्धी विषयलाई प्राथमिकताका साथ केन्द्रित गर्दै गम्भीर छलफल भएको बताइएको छ । निकट भविष्यमा अर्को बैठक बसेर आपसी सहमति कायम गर्ने लक्ष्य लिइएको छलफलमा सहभागी दूतावासले जनाएको छ ।
बैठकमा नेपाली सरकारको तर्फबाट नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी, सैन्य सहचारी महासेनानी अनुप शाह लगायत बेलायती रक्षा मन्त्रालयका ५ जना प्रतिनिधिको पनि सहभागिता थियो। त्यस्तै, भूतपूर्व गोर्खाहरूको तर्फबाट जी-१० का ९ जना प्रतिनिधि उपस्थित थिए ।
‘वर्षौ देखिको पेचिलो मुद्दा छिटो निचोडमा पुरयाउन बेलायती पक्ष सकारात्मक छ । तर, पेन्सन लिने कति भूपू गोर्खा छन्, कति रकम आवश्यक हुन्छ लगायतका तथ्यबारे अध्ययन गरि थप छलफल गर्ने कुरा भएको छ’, उपनियोग प्रमुख दुवाडीले भने ।