लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले ३१औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।
दिवसका अवसरमा आगामी अगस्ट ९ र १० मा किरात हाउस ग्याम्बल्सलेनमा आदिवासीसँग सम्बन्धीत विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउने तयारी गरिएको नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले बताए ।
दिवसको अवसरमा पहिलो दिन भलिबल प्रतियोगिता र दोस्रो दिन धनुषवाण, छेलो प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । कार्यक्रमको पहिलो दिन शनिबार अगस्ट ९ मा युथ, भेट्रान पुरुष र महिला समूहका टिमबीच भलिबल प्रतियोगिता हुने छ । त्यसैगरि दोस्रो दिन अगस्ट १० मा धनुषबाण प्रतियोगिता, झाँकी प्रदर्शनी, छेलो प्रतियोगिता आयोजना गरिने छ ।
सोही दिन नेपालबाट आएका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुती समे रहने छ अध्यक्ष राईले बताए ।
भलिबल प्रतियोगिता युथतर्फ पहिलो पुरस्कार १६ सय पाउन्ड,उपविजेता टीमले १ हजार पाउन्ड पाउनेछन् । त्यस्तै भेट्रान र महिला टिमका विजेता र उपविजेताले क्रमश १ हजार पाउन्ड र ६ सय पाउन्ड पुरस्कार पाउने छन् ।
कार्यक्रमस्थलमा स्थानीय उत्पादनहरू, लत्ता–कपडा, घरायसी सामग्री र सूचनामूलक स्टलहरू राखिनेछन् । मनोरञ्जन सामग्रीसहित सहभागीहरूका लागि क्याम्पिङ सुविधा पनि प्रदान गरिने जनाइएको छ ।
राफल ड्रको विशेष आकर्षणस्वरूप एक तोला सुन पुरस्कारस्वरूप राखिएको छ । बेलायतभर क्रियाशील नेपाली संघसंस्थाहरूलाई आयोजक नेफिनले निमन्त्रणा गरेको छ ।








