लन्डन । फोनिज युके पत्रकारिता सम्मान २०२५ बाट दुई जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूकेले स्थापना गरेको ‘फोनिज युके पत्रकारिता सम्मान २०२५’बाट पत्रकार आश गुरुङ र डोल्मा शेर्पा पुरस्कृत भएका हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले मंगलबार काठमाडौँमा आयोजना गरेको २६ औं स्थापना दिवसको अवसरमा पत्रकारद्वय गुरुङ शेर्पालाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत पत्रकारहरुलाई सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, फोनिजका अध्यक्ष लोकबहादुर चौधरी (लक्की), खेलकुदमन्त्री तेजुलाल चौधरी, पूर्वराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलगायतले फूलमाला, खदा, दोसल्ला ओढाउँदै सम्मानपत्र र नगदसहित अवार्ड प्रदान गर्नुभएको हो । गुरुङलाई २५ हजार र शेर्पालाई २० हजार राशि र प्रमाणपत्र प्रदान गरिएको छ ।
पत्रकारिताको माध्यमबाट नेपालका आदिवासी जनजाति समुदायको इतिहास, भाषा, संस्कार, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण, प्रवर्द्धन र अभिलेखीकरणमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै, साथै आदिवासी जनजातिको पहिचान र अधिकार सुनिश्चित गर्न निर्वाह गरेको सक्रिय भूमिका र समर्पणलाई सम्मान गर्दै ‘फोनिज यूके पत्रकारिता सम्मान–२०२५’ प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
गुरुङ र शेर्पासहित १२ जना पत्रकारलाई फोनिज राष्ट्रिय अवार्ड २०८२ प्रदान गरेको छ ।






