लन्डन । नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेनेलाई तमु धीं यूकेले ‘वर्षको प्रेरणादायी व्यक्ति–२०२६’ सम्मान प्रदान गरेको छ।
पत्रकारिता, महिला सशक्तीकरण तथा सामाजिक सेवाका क्षेत्रमा सेनेले पुर्याउँदै आएको योगदानको कदर गर्दै तमु धीं यूकेले उनलाई उक्त सम्मान प्रदान गरेको हो।
सम्मान प्राप्त गरेपछि अध्यक्ष सेनेले तमु धीं यूकेका सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छन्। उनले प्राप्त सम्मानले पत्रकारिता तथा सामाजिक क्षेत्रमा अझ जिम्मेवार र सक्रिय भएर काम गर्न थप प्रेरणा मिलेको बताइन्।
यसैबीच, नेपाल पत्रकार महासंघ यूकेले पनि अध्यक्ष सेनेलाई सम्मान प्राप्त गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ। महासंघले आगामी दिनमा पनि सेनेले पत्रकारिता तथा सामाजिक क्षेत्रमा अझ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।








