,

पत्रकार महासंघ यूकेले मनायो १४औं वार्षिकोत्सव, वरिष्ठ पत्रकार नेपालीलाई वर्ष पत्रकारिता सम्मान

Bimala Sene Avatar

लन्डन । नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । आइतबार एक विशेष समारोहबीच महासंघ यूकेले वार्षिकोत्सव मनाएको हो ।

अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको समुद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा र बेलायत शाखा अध्यक्ष बिमला सेनेले संयुक्त रुपमा गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथी राजदूत घिमिरेले यूकेका पत्रकारहरुलाई आगामी दिनमा ब्रिटिश मेन स्ट्रिम मिडियामा कसरी आवद्ध हुन सकिन्छ त्यसबारे सोच्न सुझाव दिए । पत्रकारिता क्षेत्रमार्फत बेलायत नेपाल सम्बन्ध प्रगाढ बनाउन अतुलनीय योगदान पुगेको भनाइ छ । राज्य बलियो बनाउन राज्यको चौंथो अंग पत्रकारिताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै राजदूत घिमिरेले फुटेर भन्दा जुटेर शक्ति बढाउने काम गर्न आग्रह गरे । साथै उनले संघसंस्था संख्यात्मक भन्दा पनि दरिलो, भरपर्दो एवं विश्वसनीय बनाउन उनको सुझाव थियो ।

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार हासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्माले नेपालदेखिको पत्रकारिताको हुटहुटीलाई निरन्तरता दिन विदेशमा समेत यस पेशामा क्रियाशील हुनु चुनौतिपूर्ण रहेको बताउंदै अध्यक्ष शर्माले बेलायतको पत्रकारिताबाट केही नयाँ सिकेर त्यो ज्ञान, सीप नेपालमा लैजान सुझाव दिइन् । साथै अध्यक्ष शर्माले आफू पहिलो महिला अध्यक्षले वैदेशिक शाखाको पहिलो महिला अध्यक्ष विमला सेनेलाई प्रत्यक्ष बधाई दिन पाउनु गर्वको विषय भएको बताइन् ।

पत्रकार वा पत्रकारिता विभाजित भए त्यसबाट सत्य तथ्य र विश्वसनीतामा आंच आउने औंल्याउंदै शर्माले जवाफदेही भएर समुदायका मुद्दा उजागर गर्न आग्रह गरिन् । बेलायत शाखाको विवादतर्फ इंगित गर्दै अध्यक्ष शर्माले केन्द्रले हस्तक्षेप भन्दा स्वतन्त्र रुपमा समाधान गर्न सहजीकरण गर्ने प्रष्ट्याइन् । नेतृत्वमा जाने चाहनेले समर्पण गर्नुपर्ने औंल्याउंदै उनले शाखा र पत्रकारिता जोगाउन सबैमा आग्रह गरिन् ।

अहिले नेपालको पत्रकारितामा आर्थिक मन्दीले समयमा तलव नपाउनु, मिडिया बन्द हुने क्रम जारी, प्रेस स्वतन्त्रता हनन जस्ता कयौं चुनौति सामना गर्नु परिरहेको उल्लेख गर्दै उनले जस्तो परिस्थितिमा पनि जवाफदेही पत्रकारिता गर्नु पत्रकारहरुको दायित्व भएको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेनेले कार्यक्रममा सहयोग गर्ने प्रायोजक, प्रमुख अतिथी, केन्द्रिय अध्यक्ष, अतिथीहरु एवं समस्त कार्यसमितिप्रति आभार व्यक्त गरिन् । सेनेले अग्रजहरुको मार्गदर्शन मानेर अगाडि बढ्ने जनाउंदै बेलायतमा बसेर पनि सानातिना कुरामा अल्झंदा समुदायमा राम्रो सन्देश नजाने भएकाले सबैलाई एकतावद्ध हुन आग्रह गरिन् ।

सो अवसरमा कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले स्वागत मन्तव्य दिंदै शाखाको १४ वर्ष यताका गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गरे । उपाध्यक्ष प्रमिला लाबुङ राईले नेपाल पत्रकार महासंघ जापान र युरोप शाखाले पठाएका शुभकामना सन्देश वाचन गरेकी थिइन् ।

कार्यक्रमको अवसरमा शाखाले यसै वर्षदेखि शुरु गरेको वर्ष पत्रकारिता सम्मान २०२५ बीबीसी नेपाली सेवाका पूर्व प्रमुख वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई प्रदान गरेको छ । नेपालीलाई २५१ पाउण्ड नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो । पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ पत्रकार सुमन खरेलले सम्मानित व्यक्तित्व नेपालीको पत्रकारितामा ५ दशक लामो योगदानबारे जानकारी दिएका थिए ।

कार्यक्रमको दोश्रो चरणमा भएको संस्थाको साधारणसभामा सुझावसहित वार्षिक र आयव्यव प्रतिवेदन पारित गरिएको थियो । यसैबीच, सोही कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ फोनिज यूकेले अध्यक्ष शर्मालाई स्वागत सम्मान गरेको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search