,

नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा वेल्समा समुदायसँग अन्तरक्रिया तथा पत्रकारिता प्रशिक्षण

Gurkha Channel Avatar

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले शनिबार वेल्स राज्यको कुम्ब्रानमा नेपाली समुदायसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामार्फत शाखाले वेल्सस्थित नेपाली समुदायका प्राथमिकता र अपेक्षा के छन् भन्नेबारे जानकारी लिंदै समाचार लेखन र सम्प्रेषणबारे प्रशिक्षण दिएको छ ।

महासंघ शाखाले अन्तरक्रियामा समुदायका नेताहरुबाट व्यक्त सुझाव सल्लाह पनि लिएको छ । साथै, ७ बुंदे वेल्स घोषणापत्र पनि जारी गरेको छ । अन्तरक्रियामा वेल्सका कुम्ब्रान, कार्डिफ र ब्रेकनबाट आएका झण्डै ४० कम्युनिटी लिडरहरुले उत्साहपूर्वक भाग लिएका थिए ।

शाखाका महासचिव खेमराज रानाभाटले कार्यक्रम सञ्चालन गर्दै समुदायसंग सम्बन्ध सुधार, परिचय आदानप्रदान र अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । सो क्रममा वेल्स गोर्खा कम्युनिटी उपाध्यक्ष धनकुमारी थोक्लिहाङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा शाखाकी उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् । सो क्रममा राईले पत्रकार समाजको ऐनामात्र नभएर सामूहिक आवाज र समुदायमा ल्याउने एकमाध्यम पनि रहेको बताइन् ।

वेल्समा प्रत्यक्ष साक्षात्कार गरेर नेपाली समुदाय र पत्रकारबीच सम्बन्ध अझ मजवुत गर्ने र समुदायका आवाज उजागर गर्नु अन्तरक्रियाको मुख्य उद्देश्य भएको उनले प्रष्ट पारिन् । त्यसैगरि वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले शाखा स्थापनाको उद्देश्य र यसले १५ वर्षे यात्रामा गरेका गतिविधिबारे भिडियो प्रिजेन्टेसन दिएका थिए । कार्यक्रममा फोनिज यूके अध्यक्ष बम सूर्यवंशीले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूके र यसका गतिविधिबारे अवगत गराए ।

फोनिज यूके पूर्व अध्यक्ष गोमा रानाले आदिवासी पत्रकारहरुको प्रोत्साहजनका लागि फोनिज यूकेले वर्षेनी पुरस्कार प्रदान गरिंदै आएको बताइन् । कार्यक्रममा महासचिव रानाभाटले समाचार, सञ्चार र जिम्मेवार रिपोर्टिङ विषयमा एक कार्यपत्र प्रस्तुत गरे । उनले कस्ता विषय समाचार बन्छन् ? समाचारमा के कुरा समावेश हुनुपर्छ, समाचारमा सत्य तथ्य र फेक कुरा कसरी छुट्याउने, श्रोतको गोपनीयता कायम कसरी गर्ने आदि पक्षबारे जानकारी दिएका थिए ।

मन्तव्य व्यक्त गर्ने क्रममा नेपाली भिलेज यूकेका प्रवन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभीओले आममानिसमा पत्रकारिता र यसको आचारसंहिताबारे जानकारी नभएको जनाउंदै यसतर्फ सचेत गराउन आवश्यक रहेको सुझाव दिए । कार्यक्रम जानकारीमूलक र पहिलोपटक भएको भन्दै उनले शाखाप्रति आभार समेत व्यक्त गरे ।

एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका अध्यक्ष डा. विकास रानाभाटले गैर आवासीय नेपालीको वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दामा बेलायतका पत्रकारहरुको भूमिका उल्लेखनीय रहेको बताउंदै यसको जस अपजस समुदाय र पत्रकारहरुले पाउने बताए । नेपाली समुदाय विभाजित हुन नहुनेतर्फ जोड दिंदै डा. रानाभाटले एकतावद्ध भएर अगाडि बढ्न सुझाए । अब दोश्रो पुस्तालाई समेत समाहित गर्नुपर्ने चुनौति पत्रकारहरुमा आएको उनले बताए ।

एनआरएनए यूके वेल्स राज्य परिषदका अर्का अध्यक्ष दीपक सुब्बा योंगदेनले अन्तरक्रिया कार्यक्रम गरेकामा शाखालाई धन्यवाद दिए । कार्यक्रम ज्ञानवद्र्धक र उपलब्धिमूलक लागेको उनले बताए । वेल्स राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष एवं एनआरएनए यूके पूर्व उपाध्यक्ष रामचन्द्र पोखरेलले कार्यक्रम एकदम सफल, राम्रो र फलदायी भएको भन्दै शाखालाई बधाई दिए । यो प्लाटफर्मबाट नेपाली समुदायले केही कुरा सिक्न पाएको बताउंदै उनले अहिले वेल्समा करिब १८०० नेपाली रहेको तथ्यांक प्राप्त भएको जनाए । नेपाली संस्था भने चारवटा सक्रिय रहेको पोखरेलले जानकारी दिए । पोखरेलले एनआरएनए यूके समग्र नेपालीसहित भावी पुस्ताका लागि एक भएर अगाडि बढ्न सुझाए । निष्पक्ष पत्रकारितामा जोड दिंदै उनले आचारसंहिता अनुशरण गर्न पनि सुझाव दिए ।

वेल्स गोर्खा कम्युनिटी अध्यक्ष सीता राईले कार्यक्रमबाट आफूहरुले केही सिक्न पाएको उल्लेख गर्दै शाखालाई धन्यवाद दिइन् । पत्रकारहरुसंग अन्तरक्रिया पहिलो, नौलो र पृथक रहेको पनि उनको भनाइ थियो । यस्ता अवसर फेरि प्रदान होस् भन्ने कामना पनि उनले गरिन् । मन्तव्यका क्रममा धर्म संस्कृति अभियान बेलायतका अध्यक्ष पण्डित डा. थानेश्वर पाण्डेयले शाखाको १५ वर्षे यात्राप्रति बधाई दिंदै शाखाले समुदायसंग निकटता राख्दै सूचना प्रवाहबारे गरेको ज्ञान फलदायी भएको बताए ।

नेपाली समुदायले आफ्नो आवाज उजागर होस् भन्ने एकमात्र अपेक्षा गरेको बताउंदै उनले नेपाली भनेर स्वाभिमानका साथ बस्ने वातावरण बनाउने, भावी पुस्तालाई नेपाल चिनाउने र लन्डन केन्द्रित नेपाली पत्रकारिता विकेन्द्रितकरण गरि अन्यत्र समेत विस्तार गर्न सुझाए । वेल्स गोर्खा कम्युनिटीका संस्थापक अध्यक्ष एवं केवाइसी यूके सल्लाहकार बद्री योङ्याले पत्रकारितासम्बन्धी ज्ञान प्रदान गरेकामा शाखालाई धन्यवाद दिए । पत्रकारिताको नाममा गलत सूचना प्रवाह गर्ने जमात समेत सक्रिय रहेकोतर्फ सचेत गराउंदै उनले गलत अभ्यासले समाजमा भ्रम र नकारात्मक सन्देश प्रवाह गर्ने जोखिम रहेको बताए । भावी दिनमा समेत यस्ता खालका कार्यक्रम राखेर ज्ञान, अनुभव साझा गर्न उनले आग्रह गरे ।

किरात याक्थुङ चुम्लुङ (केवाइसी) वेल्स अध्यक्ष खड्ग 
चोङवाङले कार्यक्रम सन्देशमूलक, फलदायी र नयां लागेको बताए । कार्यक्रममा इ कमर्स व्यवसायी प्रकाश कंडेलले समुदायका गतिविधि उजागर गर्न शाखा आफैं आएर गरेको कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गरे । सो अवसरमा नेपलिज समाज कार्डिफकी उपाध्यक्ष शोभाराणा पोखरेलले जिम्मेवार पत्रकारिता अहिलेको आवश्यकता भएको बताउंदै हरेक व्यक्ति अहिले समाचार श्रोत भएका उल्लेख गरिन् ।

कार्यक्रममा शाखाका सचिव तथा एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले ७ बुंदे वेल्स घोषणापत्र वाचन गरेका थिए । घोषणापत्रमा वेल्समा बाक्लिएको नेपाली समुदायका गतिविधि तथा समस्याहरु उजागर गर्न शाखाले सक्दो पहल गर्ने, नेपालीपन, भाषा, साहित्य, संस्कार र संस्कृतिलाई दोश्रो पुस्तामा हस्तान्तरण गर्न समुदायबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिने, शाखालाई यूकेका विभिन्न ठाउं समेट्ने र विकेन्द्रिकरण गर्ने सुझावलाई महत्वका साथ लिने लगायत प्रतिवद्धता छन् ।

शाखा अध्यक्ष विमला सेनेले सबैलाई धन्यवाद ज्ञापन गर्दै समुदायसंग सहकार्य गर्न अन्तरक्रियालाई निरन्तरता दिने कार्ययोजना बमोजिम कार्यक्रम भएको बताइन् । सम्बन्ध अझ गाढा बनाउन कार्यक्रम भएको र यो शुरुवात मात्र भएको उनको भनाइ थियो । समुदायका समाचार सम्प्रेषणमा शाखाले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरिन् । कार्यक्रममा अध्यक्ष सेनेले अतिथीहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।

कार्यक्रममा नेपाली सोसाइटी ब्रेकन वेल्स अध्यक्ष मीनप्रसाद पाइजा, वेल्स राज्य परिषद सल्लाहकार विभुषणमान श्रेष्ठ, सिभिल इन्जिनियर एवं नेपाली समाज कार्डिफका सल्लाहकार निरलाल मोक्तान, वेल्स राज्य परिषद उपाध्यक्ष बलराम अधिकारी, व्यवसायी बाबुराम खनाल, धर्म संस्कृति अभियान बेलायत उपाध्यक्ष प्रेमराज भण्डारी लगायतको सहभागिता थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search