,

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग

Gurkha Channel Avatar

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुला पत्र पठाउँदै बेलायती गोर्खा तथा गैरआवासीय नेपाली संघ, बेलायत र विश्वभर रहेका नेपाली समुदायको तर्फबाट यस्तो माग गरेका हुन् । पत्रमा निर्मल पुर्जाको असाधारण योगदानलाई नेपाल सरकारले औपचारिक रूपमा सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ ।

पत्रमा पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पर्वतारोही निर्मल पुर्जा तथा उनीसँगै ज्यान गुमाएका नौ जना पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । साथै, उनका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

एनआरएनए यूकेले निर्मल पुर्जालाई सामान्य पर्वतारोही मात्र नभई मानव साहस, अनुशासन, सेवा, नेतृत्व र असम्भवलाई सम्भव बनाउने इच्छाशक्तिको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने बताएको छ । उनको असाधारण उपलब्धिले नेपाललाई विश्वसामु गौरवका साथ चिनाउन महत्वपूर्ण योगदान गरेको पत्रमा उल्लेख छ ।

एनआरएनए यूकेले नेपाल सरकारसमक्ष निर्मल पुर्जालाई तत्काल राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । त्यस्तै, राष्ट्रिय सम्मानसहित राष्ट्रिय शोकसभा आयोजना गरी उनको योगदानप्रति राष्ट्रको कृतज्ञता र सम्मान औपचारिक रूपमा व्यक्त गर्न पनि आग्रह गरिएको छ ।

पत्रमा राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउन तथा विश्वभर रहेका नेपाली दूतावास र कूटनीतिक नियोगमार्फत श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न निर्देशन दिनुपर्ने मागसमेत गरिएको छ । साथै, निर्मल पुर्जाको नाममा राष्ट्रियस्तरको स्मारक, अध्ययनवृत्ति वा प्रेरणा प्रतिष्ठान स्थापना गरी भावी पुस्ताका लागि उनको योगदानलाई संस्थागत गर्न आग्रह गरिएको छ ।

निर्मल पुर्जाले सन् २०१९ मा विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिनाको अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको पत्रमा उल्लेख छ । उनले ८ हजार मिटरभन्दा अग्ला १४ भन्दा बढी हिमालको सफल आरोहण गरेका थिए । उनको जीवन केवल कीर्तिमानको कथा नभई मानवता, साहस, अनुशासन र सेवाको उदाहरण रहेको एनआरएनए यूकेको भनाइ छ ।

पूर्व ब्रिटिश गोर्खा सैनिक तथा स्पेसल बोट सर्भिस (SBS) का सदस्यका रूपमा समेत सेवा गरेका पुर्जाको राष्ट्रिय पहिचान सधैं नेपाली रहेको पत्रमा उल्लेख गरिएको छ । सुगौली सन्धि तथा नेपाल–बेलायत सन्धिअनुसार ब्रिटिश गोर्खा सैनिक नेपाली नागरिक नै भएकाले उनीहरूको योगदान नेपालको गौरव, इतिहास र राष्ट्रिय पहिचानको अभिन्न हिस्सा भएको एनआरएनए यूकेको दाबी छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search