लन्डन । अल्डरसट भलिबल क्लबको आयोजनामा नवौं भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार अल्डरसटस्थित वेलेस्ली स्पोर्ट्स ग्राउन्डमा आयोजित प्रतियोगितामा पुरुषतर्फ १४ तथा महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गरेका थिए।
पुरुषतर्फ स्याङ्जा भलिबल टिम च्याम्पियन बन्दा आयोजक अल्डरसट भलिबल क्लब उपविजेतामा सीमित भयो । विजेता स्याङ्जा भलिबल टिमले १ हजार ६ सय पाउण्ड नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता अल्डरसट भलिबल क्लबले १ हजार १ सय पाउण्ड नगद पुरस्कार हात पार्यो । महिलातर्फ मोना यूकेको टोली विजेता तथा विन्चेस्टर लेडिज समूह उपविजेता बने। विजेता टोलीले ९ सय पाउण्ड र उपविजेताले ५ सय ५० पाउण्ड नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा दुवै विधातर्फ उत्कृष्ट खेलाडी, म्यान अफ द म्याच, उत्कृष्ट डिफेन्स र उत्कृष्ट ब्लकरलाई समेत विशेष पुरस्कार प्रदान गरिएको थियो।
क्लबका संरक्षक शेरबहादुर सुनारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रसमोर बरोका मेयर पिटर कलम, डेपुटी मेयर जीव बेल्वासे, तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह प्रमुख कमलादेवी गुरुङ तथा काउन्सिलरहरू धन सार्की र उत्तरबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा नेपालमा राष्ट्रियस्तरको भलिबल खेलेका पूर्व खेलाडीहरू मञ्जु गुरुङ राई, लालबहादुर गुरुङ, ओमकुमारी पुन र रमिला गुरुङलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा क्लबका संरक्षक शेरबहादुर सुनारले विजेता तथा सहभागी टोलीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।
क्लबका अध्यक्ष विमल गुरुङले प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने खेलाडी, टोली, प्रायोजक, सहयोगी तथा अतिथिहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए।







