बेलायत । लन्डनस्थित तमु समाज युकेले आगामी मे १७ तारिख आइतबारका दिन आफ्नो १९औं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । वेम्बलीको बरहाम पार्कमा रहेको समाजकै सामुदायिक भवनमा बिहान १० बजेदेखि सभा सुरु हुने जानकारी महासचिव शुभ घलेले दिए ।
महासचिव घलेका अनुसार सभामा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, सल्लाहकारहरूका साथै आमा समूह र युवा समूहका वर्तमान तथा पूर्व पदाधिकारीसहित सम्पूर्ण सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ। संस्थालाई थप मजबुत, पारदर्शी र सक्रिय बनाउनका लागि सदस्यहरूको राय-सुझाव र मार्गदर्शन महत्वपूर्ण हुने भएकाले सबैको सक्रिय सहभागितामा जोड दिइएको उनले बताए।
समाजको साङ्गठनिक एकता र प्रगतिमा हरेक सदस्यको अर्थपूर्ण उपस्थितिले विशेष बल पुग्ने विश्वास संस्थाले लिएको छ। सामूहिक छलफल र सहकार्यमार्फत समाजलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ यो सभा डाकिएको हो। सन् २००७ सेप्टेम्बर ३० मा स्थापना भएको यस समाजको नेतृत्व अहिले बिन्दु कुमारी गुरुङ घलेले गरिरहेकी छन्।







