लन्डन । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ बेलायत भ्रमण रहेका छन् । अमेरिकासहित विभिन्न देशको भ्रमणमा निस्केका घिसिङलाई तमु धीं यूकेले आफ्नै भवनमा भव्य रूपमा स्वागत गरेको छ । घिसिङलाई मिचेटस्थित द तमु नेप्लिज कम्युनिटी सेन्टरमा स्वागत गरिएको हो ।
प्रमुख अतिथि घिसिङ र संस्थाका अध्यक्ष जुमकाजी गुरुङले दीप प्रज्वलन गरेर स्वागत कार्यक्रम आरम्भ भएको थियो । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष परशु गुरुङले राखेका थिए । सो अवसरमा घिसिङको स्वागतका लागि केक पनि काटिएको थियो ।
स्वागत कार्यक्रममा कलाकार पवित्र गुरुङ र अस्मिता पुरीसहित विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार पनि उपस्थित थिए । घिसिङ तमु धीं यूकेको निमन्त्रणामा १६औँ नेपाली मेलाका लागि बेलायत पुगेका हुन् ।
घिसिङले स्वागतका लागि धन्यवाद दिँदै १९ वर्ष पहिले बेलायत आएको सम्झना गर्दै झन्डै ४० मिनेटसम्म बोलेका थिए । सो क्रममा उनले विद्युत् प्राधिकरणमा रहँदाको अनुभव र उज्यालो नेपाल अभियानबारे बारे चर्चा गरेका थिए ।
कार्यक्रममा कार्य समितिका सदस्य, तमु धीं आमा समूहका अध्यक्ष कमला गुरुङ र अन्य पदाधिकारी, तमु धीं यूके ब्रान्चका अध्यक्ष, संस्थापक अध्यक्ष, भुपू अध्यक्ष, ट्रस्टी, सल्लाहकार तथा तमु धींसँग आबद्ध अन्य समाजका पदाधिकारी र सदस्य उपस्थित थिए ।







