लन्डन । एनआरएनए यूकेको नयां नेतृत्वका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन् । पुडासैनीले शुक्रबार सांझ एक भर्चुअल पत्रकार सम्मेलन गरि संघको आगामी महिना हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एनआरएनए स्थापनामा प्रमुख भूमिका निर्वाह गरेको देश बेलायतमा एक खालको भ्याकुम भइरहंदा साथीभाई र अग्रजहरुको सल्लाह बमोजिम आफू उम्मेदवारी दिने निचोडमा पुगेको पुडासैनीले बताए । पुडासैनीले एकतावद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको समानता लडाईंमा ऐेक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन एवं प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरुको अधिकार तथा सुरक्षा जस्ता विषय आफ्नो प्रमुख मुद्धा भएको उनले बताए ।
एनआरएनए अभियानमा एकतावद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिने उनको आत्मविश्वास छ । एनआरएनए यूकेलाई नमुना संस्था बनाउने आफूसंग विशेष ‘रोडम्याप’ भएको उनको जिकिर थियो । अन्याय अत्याचारविरुद्ध लड्ने र अप्ठेरो परेका मानिसलाई सहयोग गर्ने आफ्नो स्वभाव रहेको बताउंदै पुडासैनीले समाजकै लागि काम गर्ने अठोट व्यक्त गरे ।
निर्वाचनका बेला आफैंले शुल्क तिरेर सदस्यता बनाइदिने, डेलिगेट्समा हानथाप गर्ने, केन्द्रमा नेतृत्व चुन्न ‘गुप्रिजम’ गर्ने प्रवृत्तिले संस्थामा विवाद र छवि बिग्रिएको पुडासैनीले जनाए ।
को हुन् पुडासैनी ?
नुवाकोटको साविक जिलिङ गाउंपालिका २, हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा पुडासैनी स्वर्गीय उपेन्द्र पुडासैनी तथा माता लोकमाया पुडासैनीको माइला सुपुत्र हुन् । उनी २५ वर्ष अगाडि बेलायत आएका थिए ।
पढाइकै क्रममा बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स उत्रिर्ण पश्चात विगत १५ वर्षदेखि स्वास्थ्य सेवा विभागमा कार्यरत छन् उनी । ३ छोरा, २ नाती, १ नातिनीका हजुरबुवा उनी विद्यार्थीकालदेखि नै सामाजिक रुपान्तरणमा क्रियाशील थिए ।
नेपालमा रहंदा त्यतिबेला प्रख्यात सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत भएका पुडासैनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गरिरहेका छन् ।
बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहि श्रमिकहरुको हकहितको पैरबी गर्दैछन् ।
सामाजिक अन्तरघुलनमा विश्वास गर्ने उनी सन् २०१४ मा लन्डन बरो अफ ह्यारोको ह्यारो अन द हिलबाट काउन्सिलर पदमा प्रत्यासी उनी राजनीति र समाजसेवालाई शुद्धीकरणमा विश्वास गर्छन् । हाल इसेक्सको हार्लो शहरका स्थायी बासिन्दा उनी बेलायतको विभिन्न सामाजिक संघसंस्था जस्तै यती नेपाली एसोसिएसन यूकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुंदै एनआरएनए अन्तराष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य समेत थिए ।








